नेपालको राजनीतिक रङ्गमञ्चमा यतिबेला एउटा यस्तो नामको चर्चा छ, जसले सङ्घर्षको रापमा आफूलाई तिखारेको छ र अभावको भुमरीबाट उठेर न्यायको मशाल बालेको छ। उनी हुन्— विजय परियार। चितवन क्षेत्र नम्बर ३ को उर्वर राजनीतिक भूमिबाट एउटा ‘चम्किलो तारा’ झैँ उदायका परियारले आगामी निर्वाचनमा दलित क्लस्टरबाट समानुपातिकतर्फ आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका छन्।
विचारको जगमा उभिएको नेतृत्व विजय परियार केवल एउटा राजनीतिक कार्यकर्ता मात्र होइनन्, उनी उत्पीडित वर्गको वैचारिक प्रतिनिधित्व गर्ने एक प्रखर चिन्तक पनि हुन्। नेपाली कम्युनिस्ट आन्दोलनले परिकल्पना गरेको ‘वर्गविहीन र जातिविहीन’ समाज निर्माणको सपनालाई उनले आफ्नो जीवनको मूल मन्त्र बनाएका छन्। महान् जनयुद्धदेखि जनमुक्ति सेनाको गौरवपूर्ण यात्रा र पार्टीका विभिन्न मोर्चामा रहेर उनले देखाएको वैचारिक स्पष्टताले उनलाई आजको नेतृत्वको पंक्तिमा अग्रस्थानमा उभ्याएको छ। दलित आन्दोलनको बुलन्द आवाज सयौँ वर्षदेखि राज्यको मूल प्रवाहबाट किनारा पारिएका दलित र उत्पीडित समुदायको आँसु र पीडालाई विजयले नजिकबाट महसुस गरेका छन्।
उनी भन्छन्: ”राजनीति मेरो लागि पद प्राप्ति होइन, बरु दलित र पिछडिएका समुदायको टाउकोमा उनिएको अपमानको भारी बिसाउने चौतारी निर्माण गर्ने अभियान हो।” उहाँको उम्मेदवारीलाई दलित आन्दोलनका अगुवाहरूले एउटा व्यक्तिको उदयका रूपमा मात्र नभई, समग्र उत्पीडित जातिको सम्मान र अधिकारको सुनिश्चितताको रूपमा लिएका छन्। साहसको पर्याय: क्यान्सरमाथि विजय र जनसेवाको अठोट विजय परियारको साहसको कथा कुनै चलचित्रको नायकको भन्दा कम छैन। राजनीतिक मैदानमा सक्रिय रहँदा-रहँदै उनले ‘क्यान्सर’ जस्तो घातक रोगसँग लड्नुपर्यो। धेरैलाई लागेको थियो— अब विजयको सक्रियता सकियो। तर, फलाम जस्तो दृढ इच्छाशक्ति भएका परियारले क्यान्सरलाई मात्र पराजित गरेनन्, बरु अझ बढी ऊर्जा र उत्साहका साथ जनसेवाको मैदानमा फर्किए।
उनको यो ‘पुनरागमन’ ले के प्रमाणित गर्छ भने— जसको संकल्प देश र जनताका लागि हुन्छ, उसलाई कुनै पनि शक्तिले रोक्न सक्दैन। पार्टी र जनताको आशाको केन्द्र तत्कालीन माओवादी आन्दोलनका विभिन्न घुम्तीहरूमा पार्टीले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउँदै प्रदेश कमिटी सदस्यसम्म भइसकेका परियारप्रति अहिले चितवनका सम्पूर्ण न्यायप्रेमी जनताको भरोसा बढेको छ। चितवन ३ का कुना-कुनाबाट एउटै आवाज सुनिन्छ— “अबको पालो, निष्ठावान् र जुझारु युवा नेता विजय परियारको।”
नेपाली कम्युनिस्ट पार्टीले दलित आन्दोलनको भावना र त्यागको कदर गर्दै उहाँलाई समानुपातिकतर्फको ‘बन्द सूची’ मा समेट्नेमा उहाँका शुभचिन्तकहरू पूर्ण रूपमा विश्वस्त छन्। देशलाई आज यस्तै नेतृत्वको खाँचो छ, जोसँग स्पष्ट विचार होस्, जोसँग उत्पीडितको पीडा बुझ्ने मुटु होस् र जोसँग मृत्युलाई जितेर पनि देश बदल्ने साहस होस्। विजय परियार त्यही साहस र विश्वासको नाम हो। चितवन क्षेत्र नम्बर ३ बाट उदाएको यो ‘चम्किलो तारा’ ले सदनमा पुगेर दलित र उत्पीडित वर्गको अधिकारको पक्षमा गर्जन गर्ने कुरामा कसैको दुई मत छैन।







