चितवनमा तमू ल्होसार पर्वको कार्यक्रम आइतबार १३ गते देखि सुरू भएको छ । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनको संयुक्त आयोजनामा कार्यक्रम भईरहेको छ । दुवै संस्थाले विशालचोकस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको नौबिघा (डिग्री भवन) परिसरमा कार्यक्रम आयोजना गरेको छ ।
तीन दिनसम्म चल्ने कार्यक्रम पुस १३ गते बिहान महाबौद्ध गुम्बा तीनखोलेबाट शोभायात्रा सुरू गरिएको थियो । तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष बुद्धिमान गुरूङका अनुसार चितवन जिल्लामा गुरूङ जातिको उल्लेख्य उपस्थिति देखाउने योजनासहित सार्वजनिक स्थानमा कार्यक्रम गर्ने प्रयास गरिएको छ ।
‘विगतका वर्षहरुमा हामीले दुवै संस्थाबाट छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका थियौँ । तर, यसपटक हामीले सँगै मञ्च साझा गर्ने जमर्को गरेका छौँ’, उनले भने, ‘पहिलोपटक चितवनमा दुई संस्थाको संयोजनमा कार्यक्रम हुँदैछ ।’
यसवर्ष संयुक्तरुपमा एकै ठाउँमा एकै समयमा पर्व मनाउने योजनाले चितवनका गुरूङ समुदायहरुमा थप हौसला प्राप्त भएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए । पुस १३ देखि १५ गतेसम्म तीन दिन कार्यक्रम गरेर ल्होसार मनाइने उनले बताए ।
उनका अनुसार राष्ट्रियस्तरका कलाकारहरुद्वारा साङ्गीतिक कार्यक्रम प्रस्तुत हुनेछ । १४ गते रात्रिकालीन कार्यक्रमसमेत राखिएको छ । ‘पुस १४ गते राति १२ बजेसम्म पुरानो दिन र त्यसपछि नयाँ दिनको रुपमा मनाउने हाम्रो परम्परा हो’, उनले भने । कार्यक्रम अवधिभर सांस्कृतिक कार्यक्रमसँगै विभिन्न प्रकारका खेलकुद प्रतियोगिता तथा सम्मान, पुरस्कार प्रदानजस्ता कार्यक्रम राखिएको छ ।
कार्यक्रममा तीन दिनसम्म विभिन्न प्रदर्शनी कक्षसमेत राखिने छ । गुरूङ जातिको खाना तथा खाजासँगै गुरूङ जाति र संस्कृतिसँग सम्बन्धित विषयलाई प्रदर्शनको प्राथमिकतामा राखिएको छ । आफ्नो उत्पादन एवम् व्यवसाय प्रवद्र्धन गर्न चाहनेहरुले प्रदर्शनी कक्ष दर्ता गरिरहेका छन् ।
तमू ह्युल छोँज धीँ र तमू प्ये ल्हु संघ मुख्य आयोजक भए पनि तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवन, तमू प्ये ल्हु संघ महिला समिति, तमू प्ये ल्हु संघ युवा समिति चितवन, तमू (गुरूङ) विद्यार्थी छोँज धीँलगायतका भ्रातृ संघसंस्थाहरु सहयोगी भूमिकामा रहने छन् । ‘हाम्रापछाडि हाम्रा दुई संस्थासँग सम्बन्धित भातृ संघसंस्थाहरुको साथ छ’, प्ये ल्हु संघ चितवनका अध्यक्ष तमू भन्छन्, ‘विशेषगरी सांस्कृतिक कार्यक्रममा भातृ संस्थाहरुको भूमिका अझ विशेष हुन्छ ।’







