चितवनको रत्ननगरमा रत्ननगर महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यहि पुष २५ गतेदेखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो ।
आज चितवनको सौराहामा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ रत्ननगरले चितवनको उद्योग व्यापार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखिकरण गराउने उद्देश्य महोत्सव गर्न लागेको जानकारी दिएको छ ।
‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गर्न लागिएको यो महोत्सव १३ औँ संस्करण हो । महोत्सवले जेनजी विद्रोहका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान गराउने विश्वास लिइएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक शंकर गिरीले जानकारी दिए । उनका अनुसार महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानिय कला, संस्कृतिको प्रदर्शन र स्थानियस्तरमा उत्पादित वस्तु एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय र बहुराष्ट्रिय सेवाको परिचय गराउने ४ सय ५० वटा स्टल रहनेछन् । देशकै तेश्रो पर्यटकीय गन्तव्य स्थल चितवनको सौराहाको प्रवेद्धारमा रहेको रत्ननगरमा हुने यस महोत्सवले बृहत व्यवसायिक कृषि प्रविधि प्रर्दशनी केरा, माछा च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथानेबाली सँगै पशुजन्य व्यवसायलाई बजारीकरणमा जोड दिने गिरीले बताए ।
महोत्सव भित्र महको उत्पादन र बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस पटक दोश्रो चितवन मह उत्सव समेत आयोजना हुने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनको आयोजनामा मह उत्सव हुन लागेको हो । ११ दिनसम्म चल्ने महोत्सवमा बाल उद्यानसमेत राखिएको छ ।
यसपटक महोत्सव प्रवेशका गर्न सर्वासाधारणका लागि ८० र विद्यार्थीका लागि ४० रुपैयाँ शुल्क राखिएको छ । जेष्ठ नागरिक, फरक क्षमता तथा एकल महिलाहरुलाई परिचयपत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवको टिकट काटेका दर्शकका लागि सोही टिकटको आधारमा मौलाकालिका केवलकारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।
चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा करिब २५ करोडभन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको छ ।







