नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको महाधिवेशन सौराहामा

भरतपुर । नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघाराँै केन्द्रीय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । शनिबारदेखि सुरु भएको महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित हुनेछ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ ।

महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे आफु जानकार रहेको बताए । उनले उद्यम क्षेत्रमा लगानी गर्ने वातावरण नबन्दा आर्थिक तरलता बढेको बताए । सरकारले लगानीको सुरक्षा गर्न सके मात्रै तरलता कम गर्न सकिने भन्दै उनले नेपाली कांग्रेस बलियो भएमात्रै देशको अर्थतन्त्र, राष्ट्रियता बलियो हुने दाबी गरे । ‘नेपाली कांग्रेस कमजोर भएको छ, तब सबै कुरा लथालिङ्ग भएको छ’, उनले भने ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका वरिष्ठ उपाध्यक्ष मिलनबाबु नेपालले बैंक बाहिर गएर काम गर्न कर्मचारीलाई कठिन भएको बताए । बैंकको कार्यालय बाहिर कर्मचारीले दुर्व्यवहार सहनुपरेको उनले बताए । त्यस्तै, चार महिने उपदान प्रणाली कार्यान्वयन हुन नसकेको भन्दै उनले कर्मचारी विनियमावली संशोधन गर्ने बेलामा सँधै समस्या हुने गरेको बताए ।

३०औँ वर्षसम्म ज्यालादारीमा काम गरेका कर्मचारीको सुविधाको बारेमा पनि स्पष्टता आउन जरुरी रहेको उनले बताए । व्यवसाय वृद्धिको लागि कुरा गर्दै गर्दा निजि बैंकले दिने सेवा सुविधासरह हिने बारेमा व्यवस्थापनले सोँच्नुपर्ने उनी बताउँछन् ।

संघका पूर्व अध्यक्ष पुण्यप्रसाद भट्टराईले संस्थागत सुशासन, पेशागत हकहित र सामाजिक सुरक्षाको विषयलाई ट्रेड युनियनले छाड्न नहुने बताए । यी एजेण्डा पछिल्लो समय कमजोर हुँदै गएको उनले बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राजनीतिक र आर्थिक हिसाबले अहिले देशको अवस्था तरल रहेको भन्दै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन सबै कर्मचारी लाग्नुपर्ने बताए । ‘मालिक जनता हो । हामी एउटा सेवकको रुपमा काम गर्नुपर्ने छ । हामी निजी क्षेत्रसँग प्रतिस्पर्धा गरिरहेका छौँ । प्रतिस्पर्धामा हामी सबल रुपमा अगाडि बढ्न सकेनौँ भने पक्कै पनि उसले हामीलाई अघि बढ्न दिँदैन’, उनले भने ।

आफुले तल्लो तहदेखिका कर्मचारीको मर्म बुझेको बताउँदै उनले सेवा प्रवाहलाई चुस्त बनाउन आग्रह गरे । रोजगार बृद्धि र उद्यमशीलता विकासका लागि कर्मचारीहरुले सोचिदिनुपर्ने उनले बताए ।

नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष इश्वर बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यबहाक अध्यक्ष चुडामणी गुप्ता, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुँवर, रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटा, नेपाल वित्तिय संस्था कर्मचारी संघ कर्मचारी सञ्चय कोषका अध्यक्ष खिमबहादुर खड्का, नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंकका अध्यक्ष राम रावल लगायत सहभागी थिए । महाधिवेशन अघि सौराहाको ड्याम साइटदेखि सभाहलसम्म प्रभातफेरि निकालिएको थियो ।

सेयर गर्नुहोस्