चितवन – नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर दुईले चुनावी अभियान तीव्र बनाएको छ। पार्टीले घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेला सञ्चालन गर्दै जनसम्पर्कलाई व्यापक बनाइरहेको छ। यसैक्रममा मङ्गलवार, भरतपुर महानगरपालिका वडा नम्बर एक रामनगर र दुईको क्षेत्रपुरस्थित आदर्श महिला भवनमा कांग्रेसले कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यक्रम सम्पन्न गरेको छ।
भेलामा पार्टीका केन्द्रीय सदस्य तथा चितवन कांग्रेसका प्रभावशाली नेता जितनारायण श्रेष्ठले मिना खरेलजस्तो उम्मेदवार पाउनु क्षेत्र नम्बर दुईका लागि सौभाग्यको विषय भएको बताए। भेलामा बोल्दै श्रेष्ठले मिना खरेल बाल्यकालदेखि नै सामाजिक सेवा र राजनीतिमा सक्रिय रहँदै आएको आफूले नजिकबाट देखेको उल्लेख गरे। श्रेष्ठले सुधारिएको र बद्लिएको कांग्रेसको उदाहरण मिना खरेल भएको दाबी गर्दै अहोरात्र समाजसेवामा खटिने, महिला तथा बालबालिकाको हक–अधिकारका लागि निरन्तर आवाज उठाउने नारीलाई कांग्रेसले टिकट दिएको बताए।
पार्टीभित्र सर्वसम्मत निर्णयबाट मिना खरेललाई उम्मेदवार बनाइएको उल्लेख गर्दै उनले क्षेत्र नम्बर दुईमा कांग्रेसको जित सुनिश्चित भइसकेको अनुभूति आफूहरूलाई भएको बताए। उनले विगतका सांसदहरूले क्षेत्र नम्बर दुईमा विकासका नाममा कुनै उल्लेखनीय बजेट ल्याउन नसकेको आरोप लगाउँदै यसपटक स्थानीयमै जन्मिएर हुर्किएकी र यही क्षेत्रलाई जीवन समर्पण गरेकी मिना खरेललाई जिताउन आग्रह गरे। “यदि मिना खरेल जित्नुभयो भने उहाँ सधैँ जनतासँगै उभिनुहुनेछ र संसदमा क्षेत्र नम्बर दुईको बलियो आवाज बन्नुहुनेछ,” श्रेष्ठको भनाइ थियो।
मिना खरेलले पछिल्ला तीन दशकभन्दा बढी समयदेखि चितवन मात्र नभई जिल्लाभर महिला, अनाथ तथा पीडित बालबालिकाको पक्षमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै श्रेष्ठले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म खरेलको छविमाथि कसैले औँला उठाउन नसक्ने दाबी गरे। उनले कांग्रेस अब पुरानो अवस्थामा नरहेको भन्दै “बदलियौँ कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित पार्टी एकताबद्ध भएर अघि बढेको बताए। क्षेत्र नम्बर दुईका आमा, दिदीबहिनी तथा क्रियाशील कार्यकर्ताहरू एक ढिक्का भएर लागे मिना खरेलको जित अत्यधिक बहुमतसहित सुनिश्चित हुने उनको विश्वास छ। भेलामा सहभागी कार्यकर्ताहरूले पनि मिना खरेललाई जिताउन घरघरमा पुगेर मत माग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।







