काठमाडौं, माघ २८-
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत घोषणापत्रको सट्टा प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका छन् ।
सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति पाँचवर्षे योजनामा मात्र सीमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा उनले जोड दिए ।
सभापति थापाले प्रस्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय सुरु गर्ने बताए ।
“हामी प्रतिज्ञापत्र लिएर आउँछौँ । फागुनमा चुनाव हुन्छ, चैतमा सरकार बन्छ । कांग्रेसको सरकार बन्दै गर्दा कांग्रेसले वैशाख १ गते देशवासीका नाममा उभिएर पाँच वर्षको कुरा गर्दैन, ०८३ साल वैशाख १ महिना भित्रमा कुनकुन काम सक्ने हो भन्नेबारेमा देश र जनतालाई बताउँछ । फेरि जेठ १ गते आउँछ, जेठ १ गते फेरि प्रधानमन्त्री उभिन्छ र फेरि बताउँछ । यो गएको ३० दिनमा मैले यो–यो काम गरेँ, यो काम गर्न सकिनँ भन्छ र फेरि ३० दिनको हिसाब लिएर नागरिकका बिचमा आउँछ,” उनले भने ।
साथै, आफूहरूले पाँच वर्षका निम्ति सरकार चलाउन चाहेको बताउँदै भने, “हामी पाँच वर्षका निम्ति सरकार चलाउन चाहन्छौँ, यसमा लुकाउने कुरा केही पनि छैन । तर प्रत्येक दिनको हिसाबकिताब होस् भन्ने चाहन्छौँ ।”
काठमाडौंको आफ्नो सुरक्षित मानिने निर्वाचन क्षेत्र छाडेर मधेसको भित्री भेग सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिनुको कारण प्रस्ट्याउँदै थापाले मधेस नबुझी देशको सफल नेतृत्व गर्न असम्भव रहेको बताए ।
पहाडमा जन्मिएको र सहरमा हुर्किएको हुनाले आफूले ती क्षेत्रको दुःख र सुख बुझेको बताउँदै उनले मधेसका मुद्दालाई काठमाडौंको ‘स्थायी सत्ता’सँग जोड्न आफू सर्लाही गएको बताए ।
सभापति थापाले पाँच–पाँच वर्षमा भोट माग्न मात्र आउने र त्यसपछि बेपत्ता हुने राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्दै नयाँ कार्यशैलीका साथ अघि बढ्ने संकल्पसमेत व्यक्त गरे ।–न्युज एजेन्सी नेपाल






