चितवन – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर–२ ले चुनावी अभियानलाई औपचारिक रूपमा तीव्र बनाएको छ। आज (सोमबार) केन्द्रीय उप–सभापति पुष्पा भुसालद्वारा क्षेत्रीय प्रचार–प्रसार समितिको कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनसँगै पार्टीले औपचारिक रूपमा घरदैलो कार्यक्रमको पनि शुभारम्भ गरेको छ।
उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै उप–सभापति भुसालले नेपाली कांग्रेस सधैं परिवर्तन, लोकतन्त्र र जनअधिकारको पक्षमा अग्रणी शक्ति रहेको बताईन् । उनले २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना, २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना तथा २०६३ सालको जनआन्दोलनपछि राजतन्त्र अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेसले ऐतिहासिक नेतृत्व गरेको उल्लेख गरिन्। “देशमा जब–जब परिवर्तनको आवश्यकता परेको छ, नेपाली कांग्रेस अगाडि उभिएको छ। अहिले पनि राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि कांग्रेस नै विश्वसनीय विकल्प हो,” उनले भनिन्।
भुसालले क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मिना कुमारी खरेल स्वच्छ छवि, कुनै विवाद वा मुद्दामा नमुछिएकी तथा सामाजिक सेवामा निरन्तर सक्रिय महिला नेतृ भएको उल्लेख गरिन्। “यदि योग्य, इमानदार र जनताको पक्षमा उभिने नेतृत्वलाई विजयी गराइयो भने बारम्बारको अस्थिरता र चुनावी झन्झटबाट मुक्ति मिल्छ,” उनले भनिन्। महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै उनले महिलाको प्रतिनिधित्व सुदृढ बनाउन उनको विजय आवश्यक रहेको बताईन् । “क्षेत्र नम्बर–२ बाट मिना कुमारी खरेललाई विजयी गराउनु आजको आवश्यकता हो भन्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु,” उनले थपिन्।
कार्यक्रममा बोल्दै चितवन सभापति राजेश्वर खनाल, केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, गरिबी निवारण तथा सहकारी मन्त्री बिनु राई माझी, प्रदेश सभा सदस्य उत्तम जोशी तथा महानगर प्रमुख चित्रसेन अधिकारी लगायतका नेताहरूले कांग्रेसलाई विजयी गराउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर घरदैलो अभियानमा सक्रिय हुनुपर्नेमा जोड दिए। उम्मेदवार मिना कुमारी खरेलले आफू सधैं महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन, कानुन निर्मार्ण गर्न मैले उम्मेद्वारी दिएकि हु उनले भनिन्। उद्घाटन कार्यक्रम सम्पन्न भएसँगै क्षेत्र नम्बर–२ का विभिन्न वडाहरूमा घरदैलो अभियानलाई तीव्र पारिएको छ। कांग्रेसले मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमार्फत आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गर्ने जनाएको छ।






