पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने

लन्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो कार्यकालको पहिलो विदेशी अतिथिका रूपमा स्वागत गर्ने भएका छन् ।

डाउनिङ स्ट्रिटका अनुसार बर्नहम र जेलेन्स्कीले बेलायतको एक नौसैनिक अड्डामा भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरूले बेलायतको नेतृत्वमा सञ्चालन भइरहेको सैनिक प्रशिक्षण कार्यक्रमबारे जानकारी लिनेछन्, जसले युक्रेनी सशस्त्र बलको क्षमता अभिवृद्धि गर्नुका साथै युद्धभूमिमा प्रभावकारी परिणाम दिन सहयोग गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री बर्नहमले जारी गरेको वक्तव्यमा बेलायत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएको र आफ्नो समर्थन अडिग रहने उल्लेख गरेका छन् ।

रुसले बेलायतको दृढ अडानबारे कुनै शंका नराख्नुपर्ने भन्दै युक्रेनका लागि दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापना नभएसम्म बेलायत पछि नहट्ने उनलेस्पष्ट पारे । भ्रमणका क्रममा बर्नहम र जेलेन्स्कीले बेलायतमा पछिल्ला तीन सातादेखि प्रशिक्षण लिइरहेका दुई सयभन्दा बढी युक्रेनी सैनिक र नौसैनिकसँग पनि भेट गर्नेछन् । उनीहरू ब्ल्याक सी क्षेत्रमा भविष्यमा सञ्चालन हुने सम्भावित अभियानका लागि तयार पार्न आयोजित एक्सरसाइज सी ब्रीज नामक समुद्री सुरक्षा तथा समुद्री बारुद निष्क्रिय पार्ने अभ्यासमा सहभागी भएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता बेलायतले युक्रेनलाई कुल २५ अर्ब पाउन्ड बराबरको सहयोग उपलब्ध गराइसकेको छ । यसमध्ये १६ अर्ब पाउन्ड सैन्य सहायता र ५ दशमलव ६ अर्ब पाउन्ड गैरसैन्य सहयोग रहेको छ ।

यसअघि पूर्वप्रधानमन्त्री कीर स्टार्मरले पदबाट हट्नुअघि यसै महिनाको सुरुआतमा युक्रेनको राजधानी किएभ भ्रमण गरेका थिए । त्यस अवसरमा उनले युक्रेनलाई स्विडेनमा निर्मित १६ वटा ग्रिपेन लडाकु विमानको एक स्क्वाड्रन सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराउन ३० करोड युरो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्