काठमाडौं – संसदीय सुनुवाइ समिति (संयुक्त) ले प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ गरेको छ ।
सुनुवाइका क्रममा प्रस्तावित कार्कीले आफ्नो शैक्षिक तथा व्यावसायिक अनुभव प्रस्तुत गर्दै निर्वाचन आयोगको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता लोकतन्त्रका लागि अपरिहार्य रहेको बताएका छन् ।
उनले आफूले राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) तथा कानुनमा एलएलएम गरेको जानकारी दिँदै पूर्वाञ्चल ग्रामीण विकास बैंकबाट जागिरे जीवन सुरु गरेको उल्लेख गरे । उक्त संस्था हाल मर्ज भई लघुवित्त संस्थामा रूपान्तरण भइसकेको उनले बताए ।
कार्कीले २०५२ सालमा निजामती सेवामा प्रवेश गरी २०६३ सालसम्म राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतका रूपमा सेवा गरेको जानकारी दिए । निर्वाचन व्यवस्थापनको अनुभवबारे उनले २०५४ सालको स्थानीय तह निर्वाचनमा गाविस स्तरमा निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गरेको बताए ।
उनले भने, ‘मैले राजनीतिशास्त्र (पोलिटिकल साइन्स) मा एमए र कानुनमा एलएलएमको स्नातकोत्तर गरेको छु। अनुभवको रूपमा मैले पहिले पूर्वाञ्चल ग्रामीण विकास बैंक भन्ने संस्थाबाट जागिरे जीवन सुरु गरेको हुँ। अहिले उक्त संस्था मर्ज भएर लघुवित्त बनेको छ। त्यसपछि २०५२ सालमा निजामती सेवामा प्रवेश गरी २०६३ सालसम्म राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतका रूपमा काम गरेँ। निर्वाचनको सन्दर्भमा भन्नुपर्दा, मैले २०५४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृतका रूपमा गाविसको निर्वाचन गराएको अनुभव छ ।’






