नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले विचौलिया प्रकरणमा सरकार, अदालत तथा राज्यका विभिन्न निकायसँग जोडिएका विषयमा निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा सोमवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उहाँले संसदीय समिति बनाएर निष्पक्ष छानविन गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले अदालत, सरकार र समग्र राज्य संरचनालाई विचौलियामुक्त बनाउनुपर्नेमा सरकार स्वयं विवादमा जोडिएको बताउनु भयो । उहाँले सरकार आफै विचौलिय प्रकरणमा जोडिएकोले यसको छानविन सरकारले मात्रै गर्न नसक्ने उहाँको भनाई छ । महामन्त्री पौडेलले प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपप्रति पनि आपत्ति जनाउनु भयो ।
उहाँले दुई तिहाइको सरकार बनेपछि प्रेस स्वतन्त्रता थप सुरक्षित र विकसित हुने अपेक्षा गरिएपनि पत्रकार तथा सञ्चारमाध्यममाथि नियन्त्रण र दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाउनु भयो । सत्तारुढ दलका नेताहरूले पनि पत्रकारमाथिको हस्तक्षेपको विरोध गरेको उल्लेख गर्दै उहाँले सरकारका गतिविधिप्रति असहमति रहेको भएमा निष्पक्ष छानबिनको मागमा विपक्षीसँगै उभिनुपर्ने बताउनु भयो ।
उहाँले संसद्को बैठक तत्काल बोलाउन र प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो । साथै विवादीत न्यायधीहरुमाथी महाभियोग लगाउने विषयमा अन्य विपक्षी दलहरूसँग समेत परामर्श गरेर अघि बढ्ने काँग्रेसको तयारी रहेको उहाँले बताउनु भयो ।






