नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

काठमान्डौँ, भाद्र १५ गते ।

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

नक्कली नोटसहित पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दीपेश दास रहेका छन् । उनिहरु हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरिया माई मन्दिर क्षेत्रस्थित सडक खण्डमा पैदल हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरे जनाएको छ ।

पक्राउ परेका महरा र दासलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याएर सोधपुछ गर्दा उनीहरूले नक्कली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय विजय तामाङबाट ल्याएको बयान दिएपछि बयानको आधारमा प्रहरीले तामाङलाई पनि नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा रहेका तिनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।

सेयर गर्नुहोस्