मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेसँगै विमानस्थल विस्तारको बाटो खुलेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । संस्कृति तथा पर्यटन मन्त्री सु्दन किराँतीको स्वकीय सचिव राजन राईका अनुसार भरतपुर विमानस्थल विस्तारको बाटो खोल्न मन्त्रिपरिषद्ले सो निर्णय गरेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘सरकारले घोडाको नयाँ ब्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।’
भरतपुर विमानस्थल बिस्तारबारे लामो समय छलफल भए पनि टुंगिन सकेको थिएन । करिब १ वर्षअघि नै नयाँ टर्मिनल भवन शिलन्यास गरेर काम अघि बढे पनि सेनाको संरचना नहटाइँदा धावनमार्ग बिस्तार रोकिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनाका केही संरचना हटाउन सेनासँगै सरकारसँग समन्वय गरिरहेको थियो ।
मन्त्रिपरिषद् बैठकले तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ ।
विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्र लगायत संरचना छन् । ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनु पर्नेछ।
विमानस्थल विस्तार हुँदा ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ । यसको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत चैतमा नयाँ टर्मिनल भवन शिलान्यास गर्दै १–२ दिनभित्र नेपाली सेनासँग जग्गा लिई विस्तार सुरु हुने दाबी गरेका थिए । करिब १ वर्षपछि धावनमार्ग विस्तार हुने बताइएको थियो ।