चितवन, २२ माघ । विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई आइतबार बेहुली बनाएर पठाएको हो ।
स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको सनातनी परम्पराअनुसार विवाह गरिएको हो । आदर्श गृहकी संरक्षक एवं अधिकारकर्मी मीना खरेलले अस्मिताको कन्यादान दिनुभएको थियो । विवाहपछि खुसी हुँदै तिवारीले आदर्श गृहले जन्म दिने बाबुआमाले भन्दा पनि बढी जिम्मेवारी पूरा गरेको प्रतिकृया दिनुभयो ।
सानैमा आमा गुमाएकी अस्मिता बाबुआमाको संरक्षण बिना नै आफन्तको घरमा बस्दै गर्दा त्यहाँ पनि त्यति सहज महसुस नभएपछि उहाँ आदर्श गृहको आश्रयमा आउनुभएको थियो । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा कक्षा १२ उत्तीर्ण अस्मितालाई स्याङ्जाका सुवेदीले माग्न आएपछि सबैको सल्लहामा नै विवाह गरिदिएको आदर्श गृहकी संरक्षक मीना खरेलले बताउनुभयो । अस्मितासँग विवाह गर्नका लागि आदर्श गृहमा प्रस्ताव लिएर आउने सुवेदीको सबै कुराले आफूहरुलाई प्रभावित पारेपछि आदर्श गृहबाट नै अस्मितालाई अन्माएर पठाइएको खरेलको भनाइ छ ।
सुवेदीले अस्मितालाई आफूले देख्दा असल संस्कारी भएका कारण नै आफूले आफ्ना अभिभावक लिएर अस्मितालाई जीवन संगीनी बनाउनका लागि प्रस्ताव लिएर गएको बताउनुभयो । भरतपुरमै व्यवसाय गर्दै आउनुभएका सुवेदीले आफूले अस्मितालाई असल अभिभावकत्व दिने पनि बताउनुभयो । “उहाँ (नववेहुली) को अभिभावकको कुरा धेरै सुनेँ । मैले काम गर्ने ठाउँ भनेको अभिभावक नै अभिभावक भएको ठाउँ हो । उहाँलाई कुनै पनि अभिभावक नभएको महसुस गर्न दिँदिन । मैले पनि मेरो तर्फबाट दिने भूमिका सबै दिने प्रतिबद्धता गर्दछु”, उहाँले सबैसमक्ष प्रतिबद्धता गर्नुभयो ।
आदर्श गृहमा अहिले पनि ३२ जना महिला तथा किशोरीहरू आश्रित छन् । समुदायकै दाताहरूकै भरमा चलेको यो आश्रममा रहने महिलाहरुलाई विभिन्न आयआर्जनका सीप पनि सिकाइन्छ । अहिलेसम्म यो आश्रमले एक हजार एक सय ७६ जना महिला तथा किशोरीलाई समाजमा पुनःस्थापित गराइसकेको छ । जसमध्ये ४६ जनाको विवाह भैसकेको गृहकी संरक्षक खरेलले जानकारी दिनुभयो ।
आदर्श गृहबाटै धार्मिक परम्परा अनुसार मागी विवाह भएको यो नै पहिलो भएको पनि उहाँले जनाउनुभयो । अस्मिताको वैवाहिक समारोहमा उहाँलाई बधाई तथा सुखद् दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्न सामाजिक अभियान्ता तथा राजनीतिकर्मीहरुको समेत उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, पूर्व सांसद विजय सुवेदी, रिना गुरुङ, कृष्णलाल सापकोटा, नेपाली काँग्रेस चितवनका सभापति राजेश्व खनाल