कांग्रेस महासमिति बैठक : देउवालाई गठबन्धन टुट्ने डर

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ। सोमबार गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले पार्टीको चुनाव चिहृन रूखमा पानी सिञ्चन गरेर महासमिति बैठकको उद्घाटन गरेका हुन्।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महासमिति सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य एकहजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ सहित झण्डै २५ सय जनाको सहभागिता छ।

७ देखि १० फागुनसम्म चल्ने महासमिति बैठकमा चारवटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ। पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेस हुने भनिए पनि मंगलबार चारवटा पेस हुने तय भएको छ।

महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती’ प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएका थिए।

सो कार्यसूचीनुसार महामन्त्री गगनकुमार थापाले राख्न लागेको सांगठनिक प्रतिवेदन महत्वपूर्ण रहेको छ। महामन्त्री थापाकै सांगठनिक प्रतिवेदनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असहमति जनाएका छन्।

भोलिका दिनमा हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने विषय तत्कालीन परिस्थितिमा निर्भर रहने स्पष्ट पार्दै सभापति देउवाले भने, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस मूल्यांकनमा त्यसैबेला निर्णय लिनसक्ने छ। अहिलेको गठबन्धन पनि संविधान रक्षाका लागि कांग्रेसकै पहलमा बनेको हो। प्रतिनिधिसभा विघटन गर्ने, अस्थिरता ल्याउने, गणतन्त्र कमजोर बनाउने गतिविधि भएपछि कांग्रेसले पहल लिएको हो। निर्वाचनपूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो। आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेण्डाका रूपमा लिएका छौँ। वर्तमान गठबन्धन संविधान रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ।’

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा भने अरू चुनाव चिहृनमा मत दिन लगाउँदा कांग्रेसका कार्यकर्ता मात्र होइन, समर्थकसमेत असन्तुष्ट रहेको भन्दै अब कुनै पनि चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने प्रस्ताव गरिएको छ।

यसमा संस्थापन पक्षका नेताहरूले आपत्ति जनाएपछि प्रतिवेदनमा सहमति जुट्न सकेको छैन। उद्घाटन समारोह सकिएपछि फेरि छलफल गर्ने भनेर गोदावरी पुगेका देउवाले उद्घाटन समारोहबाटै महामन्त्री थापालाई जवाफ दिएका थिए।

गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्रीको प्रस्तावतर्फ संकेत गर्दै उनले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै पार्टीले मात्र बहुमत ल्याउने अवस्था नरहेको दाबी गरे। आगामी दिनमा तीनै तहमा कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी सुदृढ बनाउनसमेत देउवाले आग्रह गरे।

यही ३ र ४ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरिसकेको महामन्त्री थापाको प्रतिवेदनमा सभापति देउवाले उद्घाटन सत्रमै असन्तुष्टि जनाए।

‘चुनावी गठबन्धन गर्न नहुने’ भन्दै सांगठनिक प्रस्ताव लेखेका महामन्त्री थापा आफ्नो प्रतिवेदन सदर वा बदरको निर्णय महासमितिले नै गर्नुपर्ने अडानमा थिए । थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन गर्न नहुने विषय सभापति देउवालाई टाउको दुखाइ भएको हो ।

देउवाले अहिलेको अवस्थामा चुनावी गठबन्धनलाई थाती राखेर अगाडि बढ्नुपर्छ भन्नुमा वर्तमान सत्ता साझेदारीको विषय मुख्य कारक हो । देउवा यसै महासमिति बैठकबाट चुनावी गठबन्धनको पक्ष वा विपक्षमा कुनै निर्णय गराउन चाहिरहेका छैनन् । देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री हुने सहमति छ ।

अहिले यो विषय महासमितिबाट पारित गरेर गएमा सत्ता गठबन्धनमा उथलपुथल आउने र प्रधानमन्त्री हुने प्रक्रिया रोकिनसक्ने चिन्ता देउवालाई छ। अहिलेको महासमिति बैठकबाट सो विषय अघि नबढोस् भन्ने देउवाको चाहना हो।

त्यसैले, सोमबार ललितपुरमा महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान गठबन्धन र आगामी गठबन्धन’दयगत आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न उपयुक्त नभएको बताएका हुन्।

पार्टीभित्र आगामी गठबन्धन’दयगत अहिले नै निक्र्याेल गर्नुपर्ने मत आइरहेका बेला सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ, त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताएका हुन्।

कांग्रेस पार्टीभित्र देउवापक्षका नेता पनि चुनावी गठबन्धनको विषयमा छलफल हुनुपर्ने पक्षमा छन्। तर, देउवा अहिलको सत्ता गठबन्धन भइरहेका बेला सो विषय उठाउँदा सत्ता साझेदार दल भड्कनसक्ने भयका कारण यस विषयलाई हाल स्थगित गराएर महासमिति बैठक अघि बढाउन चाहन्छन्।

सभापति देउवा संविधान संशोधनदेखि अन्य धेरै विषयमा महासमिति बैठकमा छलफल गर्न तयार छन्। तर, अहिलेको महासमितिको बैठकबाट चुनावी गठबन्धनको विषयमा निर्णय लिँदा सहमतिका आधारमा आलोपालो आफ्नो नेतृत्वमा प्रधानमन्त्री हुने सम्भावना टर्ने त होइन भन्ने डर देउवामा छ।

महामन्त्री थापाले आफूले मुलुकभरका नेता कार्यकर्ताका भावना र आकांक्षालाई सम्बोधन गरेर प्रतिवेदन तयार पारेको सभापति देउवासमक्ष दोहोर्‍याउँदै आएका छन्। तर, देउवा भने यो गठबन्धनको विषय ‘रणनीतिक’ भएकाले अहिलेदेखि बहस गर्नु उपयुक्त नभएको बताउँदै आइरहेका छन्।

सेयर गर्नुहोस्