भरतपुर । चितवनको भरतपुरमा रहेको फोर्व्स कलेजले तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्ने भएको छ । भरतपुरको क्षेत्रपुरमा रहेको कलेजले फागुन ९ र १० गते नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कलेजका अध्यक्ष राजकुमार दाहालले कुलिनरी र पावरपोइन्टमा भाग लिन कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञापन अध्ययन गरेका विद्यार्थी हुनुपर्ने बताउनुभयो । तेस्रो संस्करणको प्रतियोगितामा कुलिनरी प्रतिस्पर्धातर्फ पहिलो चरणमा विद्यार्थीहरुले क्लासिक चिकेन क्लब स्याण्डविच विथ फ्रेन्च फ्राइज र फाइनलमा चिकेन मिटबल विथ टोमाटो सर बनाउनुपर्ने दाहालले बताउनुभयो । त्यस्तै पावरपोइन्ट प्रिजेन्टेसनतर्फ विद्यार्थीहरुले साइबर सेक्युरिटी अन्तरगत रहेर पावरपोइन्ट बनाइ प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रतियोगितामा सहभागी हुनका लागि नवलपुर र चितवनका ५० भन्दा बढी कलेजहरुलाई पत्राचार गरिसकिएको भन्दै दाहालले २० वटा कलेज सम्पर्कमा आइसकेका बताउनुभयो । एउटा समूहमा एक जना छात्रासहित चार जना विद्यार्थी सहभागी हुन पाउने प्रतियोगितामा पहिलो हुने समूहले रु १५ हजार, दोस्रो हुने समूहले रु १० हजार एवं तेस्रो हुने समूहले रु पाँच हजार पुरस्कार पाउने दाहालको भनाइ छ । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने उद्देश्यसहित फोब्र्स कलेज स्थापना गरिएको भन्दै दाहालले विश्व बजारले खोजेको हस्पिटालिटी र आईटीको शिक्षा आफूहरुले प्रदान गरिरहेको बताउनुभयो ।
प्रतियोगिताको बुधबार बिहान ११ बजे कलेज प्राङ्गणमा भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले उद्घाटन गर्ने कार्यक्रम रहेको दाहालको भनाइ छ । यसअघि कलेजले सञ्चालन गरेको पहिलो संस्करणको प्रतियोगितामा १० समूह र दोस्रो संस्करणको प्रतियोगितामा १५ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।