शालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि

चितवन – छात्रावासमा मृत फेला परेकी चितवनकी शालिन पोखरेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।

शालिनको पार्थिव शरीरमा बुबाले दागबत्ती दिएका थिए । शालिनले आत्महत्या नभई बलात्कारपछि हत्या भएको परिवारको दावी छ । तर, पोष्टमार्टम रिपोर्टले भने शालिनले झुण्डिएर आत्महत्या गरेको देखाएको छ ।

आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछिप्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले शालिनको सुसाइड नोट पनि फेला पारेको छ । प्रहरी प्रधान कार्यालयस्थित स्रोतले फरेन्सिक ल्याबमा गरिएको परीक्षणबाट उक्त ‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि भएको जनाएको छ।

सेयर गर्नुहोस्