चितवन – चितवनमा यहि फागुन २५ देखि नवौँ नेपाल फर्मा एक्स्पो-२०२४’ हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म एक्स्पो गर्न लागेको हो ।
आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै एपोनले नेपालि औषधि उद्योगको बिकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको जनाईएको छ ।
एक्स्पोमा साधारण नेपाली जनताले औषधि कसरी बन्दछ, औषधिको गुणस्तरण कस्तो छ भन्ने कुरा जान्न र आफ्नो देशको उद्योगबाट उत्पादन भएका औषधि अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग कसरी गरेका छन् भन्ने कुरा जानकारी प्राप्त गर्न सकिने फर्मा एक्स्पो संयोजक प्रभात रुङ्गग्टाले बताए ।
उनले भने, “एक्स्पोको अर्को उद्देश्य भनेको सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन भनेर पनि जानकारी गराउनु हो” ।
विश्वस्तरिय मान्यता प्राप्त विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डमा नै नेपालका औषधि उत्पादन र प्रयोग भएको जानकारी दिनु एक्स्पोको अर्को पाटो पनि रहेको उनको भनाई छ ।
औषधि उद्योगीहरु कोभिड-१९ महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै गएको मिडिया कोर्डिनेटर सन्तोष बराल बताए ।
आर्थिक बर्ष २०७८/०७९ नेपालमा नेपाली उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो ।
तर आव २०७९/०८० मा २९ अर्ब ३६ करोड मात्र कारोबार गर्न पुगेको छ । सरकारले स्वदेशी उद्योगले उत्पादन गरेका औषधि खरिद गर्नलाई छुट्टै मापदण्ड नबाइदिने हो भने हाम्रो आकार आगामी दिनमा अझै घट्दै जाने उनले बताए ।
उक्त एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिने छ
एक्स्पोमा चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, संचारकर्मी, उद्योगी र सर्वसाधारण गरि करिव २५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ भने फर्मा एक्स्पोको सम्पूर्ण तयारी पनि पुरा भएको उनले जानाकारी दिए ।