सिमलताल पहिरोमा परेका १५ जनाको शव भेटियो, ७ जनाको सनाखत हुन बाँकी

चितवन– नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परी बेपत्ता भएका २ वटा बसमा रहेका ६५ यात्रुमध्ये हालसम्म १५ जनाको शव फेला परेको छ।

मंगलबार बिहान साढे ९ बजेसम्म १५ मध्ये ८ जनाको सनाखत भएको सीडीओ कार्यालय चितवनले जनाएको छ। सीडीओ इन्द्रदेव यादवका अनुसार दुर्घटनामा बेपत्ता भएका ९ भारतीय मध्ये ३ जनाको मृत्यु भएको छ। भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ।यसैगरी चिवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ ।

चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला ६ पुरुष र १ महिला गरी ७ जनाको शव सनाखत भएको छैन। गत २८ असारको बिहान ३ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य ४ गरी २७ र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ सहित ६५ यात्र यात्रु सवार रहेको सीडीओ कार्यालयले पुष्टि गरेको छ।

ती मध्ये काठमाडौँबाट गौर जाँदै गरेको बसबाट हाम्फालेर रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव, सरोजकुमार गुप्ता र रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासले ज्यान वचाएका थिए। जुगेश्वर र सरोज अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने नन्दन दास अहिले पनि उपचाररत रहेको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्