स्वास्थ्य बीमा अब झनै सहज, स्थानीय तहमार्फत एकैपटक धेरै नागरिकको आबद्धता

स्वास्थ्य बीमा कार्यक्रममा प्रदेश तथा स्थानीय तहका नागरिकलाई सामूहिक रूपमा आबद्ध गर्न र नवीकरण गर्न डिजिटल सेवा सुरु गरिएको छ ।

स्वास्थ्य बीमा बोर्डले कात्तिक १७ गतेदेखि एचआईबी ई–पोर्टल(eportal.hib.gov.np) मार्फत डिजिटल सामूहिक आबद्धता तथा नवीकरण (बल्क इनरोलमेन्ट/रिन्युअल) सेवा सञ्चालनमा ल्याएको हो ।

बोर्डका अनुसार पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरी सेवा सुरु गरिएको छ ।

नयाँ प्रणालीमार्फत प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट वा दर्ता सहयोगीमार्फत नागरिक तथा लक्षित लाभग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गर्न, नवीकरण गर्न, योगदान रकम भुक्तानी गर्न र अभिलेख व्यवस्थापन गर्न सक्नेछन् ।

यसअघि स्वास्थ्य बीमामा आबद्धता र नवीकरणका लागि व्यक्तिगत रूपमा प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेकामा नयाँ प्रणालीले स्थानीय तहबाटै सामूहिक रूपमा सेवा सञ्चालन गर्न सहज हुने बोर्डको अपेक्षा छ ।

स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई सम्बन्धित प्रदेश र जिल्ला कार्यालयसँग समन्वय गरी डिजिटल आबद्धता तथा नवीकरण सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

नयाँ प्रणालीले बीमा आबद्धता प्रक्रियालाई सहज, व्यवस्थित र पारदर्शी बनाउनुका साथै दर्ता प्रक्रियामा लाग्ने समयसमेत घटाउने विश्वास बोर्डले लिएको छ ।

 

सेयर गर्नुहोस्