पहिरोमा पुरिएका २ वर्षे बालकलाई जिवितै उद्धार गरे

शनिबार निरन्तर वर्षा भइरहेको थियो । जिल्लाभर विपदको घटना भैरहेकोले प्रहरीलाई उद्धार सूचना लिने चटारो थियो । भीमेश्वर नगरपालिका–६ मैदानेमा १ बजेर ४० मिनेटमा पहिरोले घर पुरिएको अपुष्ट सूचना प्रहरीमा आयो । सूचना आएको १० मिनेटमा प्रहरी निरीक्षक सत्रुधन महतो घटनास्थल पुगे  ।

मैदानेमा रामकुमार भुजेलको घर पूर्ण रुपमा पहिरोमा पुरिएको थियो । घरमा कतिजना थिए कुनै जानकारी थिएन ।

निरन्तरको वर्षाले माथिबाट पहिरो झरिरहेको थियो । यस्तोमा पुरिएको घरबाट बच्चा रोएको आवाज सुनियो । त्यतिबेलासम्म २/४ जना स्थानीय पनि जम्मा भइसकेका थिए । सबैले चारैतिरबाट खन्न थालेपछि प्रहरी निरिक्षक महतोले खन्न रोके र रुख र पहिरोले चेपिएको घरको टाँड फेला पारे ।

उनले रुख हटाउन लगाएर पहिरोले थिएचिएका नाबालक निकाल्ने प्रयास गरे । तर पहिरो आईरहेकोले नाबालकलाई सकुशल निकाल्न निकै कष्ट परेको थियो उनलाई ।

‘पहिरोले घर पुरै थिचिएको थियो, रुख ढलेर जोखिम बढेको थियो,’ उनले भने, ‘तत्कालै टाँड परेको स्थानबाट घर्सेर बालक तान्ने प्रयास गरे ,बालकलाई उनकी आमाले हातले च्यापिरहेकी थिईन् ।’ आमाको पहिरोमा थिचिएर घटनास्थलमै मृत्यु भएपनि बालक आमाको हातमा च्यापिएर रोईरहेको अवस्थामा भएको उनले बताए ।

समान्य त्रुटी भएमा बालकको पनि ज्यान जाने अवस्थाबाट टाँडबाट एक हातले बालकलाई निकालेको उनले बताए । ‘केहि समय उद्धारमा ढिलाई भएको भए अवस्था अरु नै हुन्थ्यो,’ उनले भने, ‘बालकलाई पहिरो भित्रबाट निकाल्ने बित्तिकै फोटो खिच्नेको भिड बढ्यो, तत्काल अस्पताल लैजान भनेर सुरक्षाकर्मीलाई भनेँ ।’

शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोमा रामकुमार, उनका १६ वर्षका छोरा रोशन र श्रीमती राधा भने जोगाउन नसकिएको उनले बताए । १६ वर्षका रोशनलाई सुरक्षाकर्मीले पहिरोबाट निकालेर अस्पताल लगेपनि उनीको अस्पताल पुग्न नपाउँदै मृत्यु भएको उनले बताए ।

सेयर गर्नुहोस्