ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

ललितपुर महानगरपालिका वडा नम्बर– ५

स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो।

प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतका अनुसार मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए ।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन् ।बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।

धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको भेटिएको छ ।

सेयर गर्नुहोस्