वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

काठमाडौँ, कात्तिक १० गते ।

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको जलवायु परिवर्तनमा समन्वयको कुरा अत्यन्त महत्त्वपूर्ण छ । वन तथा वातावरण मन्त्रालय हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रूपमा नामाङ्कन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ ।’’

उहाँले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रूपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतीहरू महसुस गरिरहेको पनि उल्लेख गर्नुभयो ।

‘‘जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रूपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ । जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतीहरू महसुस गरिरहेका छौँ ।,’’ सचिव खरालले भन्नुभयो, ‘‘जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय शृङ्खलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ ।’’

सचिव खरालले जलवायु परिवर्तनका कारणले नेपालले ठुलो क्षति व्यहोरिरहेको बताउनुभयो । जलवायु परिवर्तनको समस्या नेपालका कारण नभएको जानकारी उहाँले दिनुभयो ।

शनिबार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशको पोजिसन पेपर बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

सेयर गर्नुहोस्