काठमाडौँ-
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गरेका छन्।आइतबार काठमाडौँमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डेमोक्रेसीको ‘डि’सँगै अरु दुई वटा ‘डि’ को आवश्यक हुने बताएका हुन्।
उनले लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको बताए। लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने उनले उल्लेख गरे।
उनले भने, ‘डेमोक्रेसीलाई चिरस्थायी बनाउनका लागि डिसिप्लेनको डि आवश्यक छ। लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझेनौँ, यसलाई अराजकताको प्रणालीका रुपमा बुझ्यौँ भने लोकतन्त्र कमजोर हुन्छ। र डेमोक्रेसीको डिसँग अर्को आवश्यक पर्ने डि भनेको (डिस्ट्रिब्युसन) वितरणको डि हो। वितरण भनेको नागरिकका बीचमा सम्भावना र अवसरको वितरण हो।’
उनले नागरिकका बीचमा सम्भावना र अवसरको वितरण गर्न आवश्यक रहेकाले वर्तमान सरकार सोही उद्देश्यलाई पूरा गर्न लागिरहेको बताए।
उनले भने, ‘अहिलेको सरकार विशिष्ट उद्देश्यका साथ बनेको हो। सरकार बनाउनका लागि बनेको सरकार होइन। केही मानिसहरू मन्त्री हुनका लागि मात्रै बनेको सरकार होइन। जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि बनेको हो।’
उनले अगाडि थपे, ‘नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरण हो । शिक्षा, स्वास्थ्य लगायतका अवसरहरूमा सरल, सुलभ पहुँचका व्यवस्थाहरूका वितरण हो। अनुशासन र वितरण हो। यि दुई कुरालाई जबसम्म लोकतन्त्रसँग राम्रोसँग जोडिँदैन, तबसम्म लोकतन्त्र चिरस्थायी हुन सक्दैन।’
गृहमन्त्री लेखकले लोकतन्त्रलाई चिरस्थायी राजनीतिक पद्धतिका रुपमा अघि बढाउने उद्देश्यका साथ सरकार बनेको बताए।







