काठमाडौं–
राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले लामो समयसम्म पनि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माण सम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो ।त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति लगायत आवश्यक पूर्वाधार तयार गरी खेलकुदका आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्ने गरी काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधारमा एक वर्ष परेको बजेटले अर्को निरन्तरता पाउन नसक्दा समयमा सम्पन्न गर्न कठिन हुने गरेको बताए । फुटबल रंगशालाका लागि विश्व फिफाले सहयोग गर्न तयार भए पनि जग्गा प्राप्त भने गर्न नसकिएको उनले बताए ।
मन्त्री चौधरीले सीमित स्रोत साधनकाबीच पछिल्लो समय खेलाडीहरूको प्रदर्शन निकै राम्रो हुँदै गएको बताए ।