नारायणगढ ।
उद्योग तथा वाणिज्यमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको विकासका लागि कानुनी जटिलतालाई फुकाएर काम गर्नुपर्ने बताएका छन् ।
चितवन महोत्सवको १५औँ संस्करणको उद्घाटन गर्दै मन्त्री भण्डारीले कानुनी जटिलताका कारण निजी क्षेत्र फस्टाउन नसकेको बताएका हुन् । चितवनको शक्तिखोरमा बनाउने भनिएको औद्योगिक क्षेत्रको विकासलाई उदाहरणका रुपमा लिँदै मन्त्री भण्डारीले भने, ‘उद्योग मन्त्रालयले काम गर्ने भनेर प्रक्रिया अगाडि बढाउँदा वन मन्त्रालयले रोकिदिन्छ । हिजो हामीले नै बनाएका कानुन आज हाम्रै लागि बाधक बनेका छन्, त्यसैले यसलाई सच्याउन आवश्यक छ ।’
सरकारले निजी क्षेत्रलाई सहज हुने खालका नीति निर्माण गरिदिने हो भने नेपालको उत्पादन विदेशी बजारमा पर्याप्त हुने उनले बताए । ‘लगानी र उत्पादनभन्दा पनि सरकारभित्रका संरचना थप जटिल बनेको छ’, उनले दोहो¥याउँदै भने, ‘एउटा मन्त्रालयले काम गर्न खोज्दा अर्को मन्त्रालयसँग बाझिन्छ, उसले रोक्छ । हिजो हामीले नै बनाएको कानुन हाम्रै लागि प्रगतिको बाधक बन्ने गरेकोले त्यस्ता कानुन परिमार्जन गरेर शासकीय सुधार ल्याउन आवश्यक छ ।’
सरकारले बनाएको कानुनले नियन्त्रण गर्ने, निषेध गर्ने वातावरण सिर्जना भएको हुँदा त्यसले उद्योग, व्यवसायलाई पनि निषेध गरेको उनले बताए । एउटा कामका लागि बनेको कानुन अर्को काममा बाधक बन्ने स्थितिकै कारण सुशासनमा जनअपेक्षाअनुसारको काम हुन नसकेको उनले बताए । आगामी दिनमा त्यस्ता कानुन संशोधन गरेर देशमा लगानीमैत्री वातावरण सिर्जना गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ ।
एउटै विधेयक पारित गर्नका लागि राजनीतिक खिचातानीका कारण वर्षदिनसम्म कुर्नुपर्ने अर्को समस्याले देश विकासमा बाधा पुगेको मन्त्री भण्डारीले बताए । अर्को कुरा तीन तहका सरकारको परिकल्पना गरेर काम गर्दा पनि एउटा तहको सरकारले अर्को तहको सरकारलाई नचिन्ने अवस्था आएको उनले बताए । तीनै तहको सरकारबीच समन्वय र सहकार्यका साथ अगाडि बढ्न आवश्यक रहेको उनले बताए । यस्तै समस्या र नीतिगत जटिलतालाई हटाउन सरकार चाहेको उनको भनाइ छ ।
नेपालको पुँजी बजारमा निजी क्षेत्रको प्रवद्र्धन र आन्तरिक बजारमात्रै नभई विश्व बजारमा निजी क्षेत्रको उत्पादनलाई पु¥याउन सरकारले अख्तियारी गरिरहेको समेत उनले बताए । समयको मागअनुसार कृषि, उद्योग, ऊर्जा, प्रविधिलगायतका क्षेत्रमा लगानी बढाउने प्रयास गर्दै आएको उनले दाबी गरे । यस्तै रूग्ण बनेका उद्योग तथा सरकारी संस्थानलाई मजबुत बनाउनका लागि सरकारले उच्चस्तरीय आयोग बनाएर काम गर्नुपर्ने बेला आएको मन्त्री भण्डारीले बताए ।
विराटनगर जुट मिल, गोरखकाली टायर उद्योग, हेटौँडा सिमेन्ट कारखाना, बुटवल धागोलगायतका उद्योगलाई सञ्चालन गर्ने विषयमा पनि सरकारले प्रयास गरिरहेको उनले बताए । यी उद्योगलाई सञ्चालन गर्न निजी क्षेत्रसँग सरकारले साझेदारी गरेर काम गर्ने हो भने नेपालको जिडिपीमा सुधार देखिने उनको बुझाइ छ ।
सरकारले भारतपछि नेपाल नै लगानीमैत्री देश हो भनेर विश्व बजारमा चिनाउने प्रयास गरिरहेको उनले बताए । ‘समृद्धिका लागि उद्योग, पर्यटन, कृषिलगायतका क्षेत्रमार्फत अगाडि बढ्न र बढाउन सरकार तयार छ’, उनले भने, ‘त्यसका लागि जनताले अपेक्षा गरेअनुसार नीतिगत सुधार नै आजको आवश्यकता हो ।’ चितवनको उत्पादनले विश्व बजारमै ठूलो अर्थ राख्ने हुँदा यस्ता जिल्लामा हुने मेला–महोत्सवले पनि नेपालकै अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो सहयोग पुग्ने मन्त्री भण्डारीले दाबी गरे ।
‘पर्यटन हबका रुपमा रहेको चितवन र चितवन राष्ट्रिय निकुञ्जले दिएको योगदानलाई देशका अन्य जिल्लाले पनि पाठ सिक्नुपर्छ’, उनले भने, ‘यहाँका उद्योगी व्यवसायीको मागअनुसार ठोरी भन्सार विन्दुको विकासमा सरकारले ध्यान दिन सके चितवनको निजी क्षेत्रले अझ प्रगति गर्ने देखिन्छ । त्यस विषयमा मन्त्रालयको ध्यान केन्द्रित भएको छ ।’
महोत्सव मूल समारोह समितिका संयोजक एवं उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र क्षेत्रको आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा महोत्सवले टेवा पु¥याउँदै आएको जानकारी दिए । चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन पनि महोत्सवले विगतका दिनदेखि नै योगदान दिँदै आएको उनले बताए । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप ऊर्जा दिने अपेक्षा राखिएको उनले बताए ।
महोत्सवमा यसवर्ष पर्यटन क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको उनको भनाइ छ । महोत्सवस्थलदेखि जिल्लाका विभिन्न पर्यटकीयस्थलसम्म जानका लागि ‘पार्टी बस’समेत सञ्चालन गर्न लागेको उनले बताए । ‘पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइने छ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्वयमा छूटको समेत व्यवस्था गरेका छौँ’, उनले भने ।
महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बताउँदै अध्यक्ष श्रेष्ठले भने, यसवर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादनलाई समेत प्रदर्शनीमा समेटेका छौँ ।’ सातवटा विशेष स्टल, डोम, कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न संघसंस्थाका स्टल, रेस्टुरेन्ट परिसरसहित ४३० वटा प्रदर्शनी कक्ष रहेको महोत्सवमा १५ दिनसम्ममा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ । ३० करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्यअनुसार महोत्सव सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सवको उद्घाटनअघि झाँकीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्रामा विभिन्न जातजाति आआफ्ना भेषभूषामा सजिएर उपस्थित भएका थिए । घोडा, हात्तीसँगै बाजागाजासहित निकालिएको शोभायात्राले नारायणगढ बजारलाई परिक्रमा गरेको थियो ।






