सुदूरपश्चिममा रास्वपा स्थानीय तह अधिवेशनमा केन्द्रित हुने

२९ पुस, धनगढी ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूूरपश्चिमले पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ ।

२७ र २८ पुसमा बसेको रास्वपा सुदूरपश्चिमको बैठकले पार्टीलाई वडा र स्थानीय तहका अधिवेशन केन्द्रित गरेर संगठन निर्माणमा तीव्रताका साथ अघि बढ्ने निर्णय गरेको प्रदेश महामन्त्री तथा प्रवक्ता सन्तोषराज जोशीले जानकारी दिए ।

जोशीले पार्टीको महाधिवेशनलाई समयमै सम्पन्न गर्न पालिका र वडा समितिहरू गठनमा तीव्रता दिने, वडा अधिवेशनलाई प्राथमिकताका साथ सम्पन्न गर्ने निर्णय गरिएको बताए ।

उनका अनुसार बैठकले संगठन सुदृढीकरणका लागि तहगत संरचना बलियो बनाउने, गठित समितिहरूलाई प्रभावकारी बनाउने र पार्टीका सिद्धान्त र मूल्यमा आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

सामाजिक सेवामा आधारित संगठन निर्माण अभियानलाई तीव्रता दिने, संगठनका कमी कमजोरीहरूको समिक्षा गर्दै नयाँ रणनीतिसहित अगाडि बढ्ने विषयमा पनि सहमति भएको जोशीले बताए ।राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष ईन्जिनियर प्रकाश विष्टको सभापतित्वमा सम्पन्न भएको बैठकमा केन्द्रिय विभाग, प्रदेश विभाग र पालिका सभापति समेत सहभागी थिए ।

बैठकमा पार्टी संगठन विस्तार अभियानअन्तर्गत प्रदेशका नौ वटै जिल्लाका भेला समीक्षा गर्दै जिल्ला सभापतिले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

सेयर गर्नुहोस्