निकिताले रविलाई इजलासमै लगाइदिइन् टीका

२९ पुस, काठमाडौं ।

थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् ।

आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् ।काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस जारी छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए । तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

तर आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो । आज बिहान अदालत खुलेपछि उनलाई प्रहरीले इजलासमा उपस्थित गराएको हो ।

सेयर गर्नुहोस्