२४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी गर्नेलाई पक्राउ गर्न थालेको हो । प्रहरी चौकी तीनकुने लगायतका ठाउँबाट लुटिएका गोली, दुईवटा म्यागेजिन, हतकडीसहित सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन् । उनी तीनकुने चौकीसहित सिंहदरबारको आगजनीमा समेत सहभागी व्यक्ति हुन् ।
पक्राउ पर्नेमा लहान नगरपालिकाका विसान शाह, लहानकै सुरज यादव, प्रदीप यादव, निरज सिंह, जनकपुरका दीपक मण्डल, निरज यादव, सिरहाका सन्तोष मण्डल छन् । उनीहरूको साथबाट लुटिएका सामानसमेत बरामद गरिएको छ ।
सेना र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेर प्रहरी चौकी तीनकुनेको जिम्मा लगाए पनि चौकीको संरचना जलेर ध्वस्त भएकाले कहाँ राख्ने भन्ने विषय टुंगिएको छैन ।