गुरुकुल कलेजमा जिल्लास्तरीय हाजीरीजवाफ प्रतियोगिताको चौथो संस्करण सम्पन्न

गुरुकुल कलेजको आयोजनामा जिल्लास्तरीय रनिङ–शील्ड अन्तरविद्यालय हाजीरीजवाफ प्रतियोगिताको सम्पन्न भएको छ । कलेजको ३०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको चौथो संस्करणमा ३३ विद्यालयलाई पछाडि पार्दै स्काई राईडर आवसिय माध्यमिक विद्यालय प्रथम भएको छ ।

त्यस्तै जनप्रिय आवासिय माध्यमिक विद्यालय द्धित्तीय र एकता शिशु निकेतन विद्यालय तृतीय भएको कलेजले जानकारी दिएको छ । विजेता विद्यार्थीहरूले मंसिर १७ गते आयोजना हुने वार्षिकोत्सव समारोहमा जम्मा ६ लाख ८८ हजार ५०० रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता छनोट चरण अनलाइन प्लेटफर्ममार्फत गरिएको थियो । छनोटमा उत्कृष्ट अंक प्राप्त गर्दै नारायणी नमूना, डन एकेडेमी, स्काई राईडर, प्रेरणा, अर्कीड, जनप्रिय, होली भिजन र सगरमाथा आ.मा.वि. शीर्ष–८ मा परेका थिए । त्यसपछिका उच्च अंक ल्याएका सिराई सनराईज, एकता शिशु निकेतन, युनिक र कालिका संस्कारकुलम, पोलार स्टार र नारायणी पब्लिक स्कुलबीच अतिरिक्त छनोट खेलाइएको थियो । सोबाट एकता शिशु निकेतन र पोलार स्टार आ.मा.वि. ‘वाइल्ड–कार्ड’ मार्फत फाइनलमा प्रवेश गर्न सफल भएका थिए । यसरी जम्मा १० विद्यालयले फाइनल प्रतिस्पर्धा गरेको विद्यालयले जानकारी दिएको छ ।

यसअघि कक्षा १२ का विद्यार्थी तथा इभेन्ट म्यानेजर सौगात पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सह–प्राचार्य जे.एन. लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । यस्तै प्राचार्य टिकाराम चापागाईं र विज्ञान कार्यक्रम संयोजक हरिहर भुसालले प्रतियोगिताका नियमबारे जानकारी गराउनुभएको कार्यक्रममा कक्षा १२का विद्यार्थी रोशन रेग्मी र बजुद न्यौपानले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

 

सेयर गर्नुहोस्