चितवनको भरतपुर महानगरपालिका–१, स्थित दियालो रोडलाई सौन्दर्यकरण गर्ने अभियान अन्तरगत सडक पेटीको गमलामा सुन्दर चित्रहरु कोर्न थालिएको छ ।
वडा नं.१ को आर्थिक सहयोगमा दियालो रोड टोल विकास संस्थाले करिव ६ सय मिटरको दुरीमा रहेका ७५ वटा चारपाटे गमलामा चित्र कोर्ने काम भइरहेको टोलका अध्यक्ष रवि कुमार प्रधानले जानकारी दिए । नारायणघाटको लिला चोकदेखि गौरेश्वर पशुपति मन्दिरसम्मका सडकमा विभिन्न जातजातिको संस्कृति झल्किने, हिमाल, बाघ, गैंडा, मयुँर, विभिन्न भगवानका चित्र कोर्न थालिएको छ । अहिलेसम्म ६५ प्रतिशत चित्र बनाउने काम सकिएको छ । ‘करिव करिव चित्र बनाउने काम सकिनै लागेको छ, यसले हाम्रो टोलको सडकलाई सुन्दर बनाउने छ’–टोल अध्यक्ष प्रधानले भने । उनले वडाले बजेट निकासा गरेर साथ दिएकाले यो काम संभव भएको बताए ।
वडालाई सुन्दर बनाउन चित्र कोर्नका लागि ४ लाख ५० हजार बजेट विनियोजन गरेर काम अगाडि बढाईएको वडा अध्यक्ष केशव महर्जनले जानकारी दिए । उनले दियालो टोलसंगै नारायणघाटको नमस्ते चोकदेखि बालकुमार क्याम्पस हुँदै बालकुमारी कन्या चोकसम्मको रोडमा पनि चित्र कोर्न सुरु गरिने जानकारी दिए । टोलसंग सहकार्य गरेर सौन्दर्यकरणको अभियान थालिएको वडा अध्यक्ष महर्जनले बताए । ‘हामी वडा नं.१ लाई पूर्ण सरसफाइयुक्त र सुन्दर बनाउने अभियानमा छौं, भरतपुरको पहिचान झल्किने खालका चित्रलाई प्राथमिकता दिएर चार पाटे गमलामा चित्र कोर्न थालेका छौं’–वडा अध्यक्ष महर्जनले भने ।







