खैरहनी नगरपालिकाको लक्षित तालिम, मेशिन–औजार तथा आर्थिक सहयोगले नगरभित्र महिला, फरक क्षमता भएका व्यक्तिहरू र कृषक समूहहरूलाई आत्मनिर्भर बनाउँदै लघु उद्यमहरू सफलतापूर्वक सञ्चालनमा ल्याएको छ।
खैरहनी–५, फसेरा निवासी मुना चौधरीले चार वर्षअघि खैरहनी नगरपालिकाले आयोजना गरेको चप्पल बनाउने तालिममा सहभागिता जनाइन्। उनीसँगै १५ जनाले आधारभूत तथा एडभान्स तालिम लिएका थिए। तालिमपछि नगरपालिकाले मेशिन, आवश्यक कच्चा पदार्थ र आर्थिक सहयोग उपलब्ध गराएपछि १० जना मिलेर निलगिरी चप्पल लघु उद्यमी समूह स्थापना गरी हाल व्यावसायिक रूपमा चप्पल उत्पादन गरिरहेका छन्।
त्यसैगरी खैरहनी–५, जबकौलीकी बिन्दु महतो लगायत २५ जनाले अर्को तालिम लिएका थिए। तीमध्ये ७ जनाले सिर्जनशील लघु उद्यमी समूह स्थापना गरी ऊनी टोपी, स्वीटर, लेहङ्गा, गाउन, चौबन्दी चोली तथा सिङ्गापुरे ड्रेस उत्पादन गरिरहेका छन्। उनीहरूको उत्पादनले स्थानीय बजारमा राम्रो पहिचान बनाउँदै गएको छ।

खैरहनी–७, सुर्तानाकी गेसु चौधरीसहित १३ जनाले बुनाइसम्बन्धी तालिम लिएपछि तीमध्ये ५ जना मिलेर दिगो महिला लघु उद्यमी समूह गठन गरेका छन्। समूहले हाते तान र अटो मेशिन प्रयोग गरी टोपी, ब्याग, सल, दोसल्ला, कुर्ता र साडी हातैले बुनेर उत्पादन गर्दै आएको छ। खैरहनी नगरपालिकाले बुनाइ तालिम र मेशिन उपलब्ध गराएको भए पनि उनीहरूले थप अटो मेशिन, एडभान्स तालिम तथा बजार विस्तारका लागि प्रचार–प्रसारको आवश्यकता रहेको बताएका छन्।
यस्तै खैरहनी–८ की दिलकुमारी लामा, खैरहनी–६ की रञ्जिता सिजाली र खैरहनी–२ की होममाया सापकोटा लगायत २० जना फरक क्षमता भएका महिलाहरू मिलेर समूह निर्माण गरेका छन्। नगरपालिकाको तालिम र आर्थिक सहयोगपछि अपाङ्गता भएका महिलाहरूद्वारा सञ्चालित लघु उद्यम सञ्चालनमा आएको छ। उनीहरूले झोल साबुन, हार्पिक, फ्लोर क्लिनर, नुहाउने साबुन, पिताम्बरी, सरफजस्ता सरसफाइ सामग्रीका साथै च्याउ र ड्रागन फ्रुट उत्पादन गर्दै आएका छन्।
खैरहनी नगरपालिकाको सहयोगमा नवजागरण मौरीपालक कृषक समूहले प्राकृतिक तथा अर्गानिक मह उत्पादन गरिरहेको छ भने साना किसान कृषि सहकारी संस्था, खैरहनीले शुद्ध तोरीको तेल उत्पादन गर्दै आएको छ। त्यसैगरी महिला साना किसान कृषि सहकारी संस्था, कठारले विभिन्न ब्राण्डका चामल उत्पादन गरी बजारमा पुर्याइरहेको छ।

उल्लेखित सबै समूह तथा संस्थाहरूलाई खैरहनी नगरपालिकाले तालिम, मेशिन–औजार, आवश्यक सामग्री र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। तिनका उत्पादनको बिक्री–वितरण र प्रचार–प्रसारका लागि नगरपालिकाले खिचरा महोत्सव परिसरमा डेढ दर्जनभन्दा बढी स्टल व्यवस्था गरी प्रवर्द्धनसमेत गरिरहेको छ।
खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाँले यस्ता कर्मठ समूह तथा संस्थाहरूलाई अझ सशक्त बनाउँदै लैजान थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार सीपमूलक तालिमलाई उत्पादन र बजारसँग जोड्न सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिनेछ।
लघु उद्यमीहरूका उत्पादन जनतामाझ चिनाउने र बजार विस्तार गर्ने सन्दर्भमा खिचरा महोत्सव प्रभावकारी प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ। यसले स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउँदै उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।






