– रमेश बस्ताकोटी
नेपाली राजनीतिको रङ्गमञ्च सधैँ उतारचढाव, षड्यन्त्र, र पदको छिनाझपटीले भरिएको हुन्छ। यहाँ सत्ताका लागि गरिने ‘अपवित्र गठबन्धन’ सामान्य मानिन्छन्, तर एउटै पार्टीभित्रका दुई समान हैसियतका नेताबीचको आत्मीयता भने निकै दुर्लभ घटना हो। राजनीतिमा भनिन्छ,”कोही स्थायी शत्रु हुँदैनन्, कोही स्थायी मित्र हुँदैनन्।” तर, नेपाली कांग्रेसका दुई खम्बा— गगन थापा र विश्वप्रकाश शर्माको सम्बन्धले यो पुरानो मानकलाई चुनौती दिँदै एउटा नयाँ मानक स्थापित गरेको छ। उनीहरूको सम्बन्ध केवल राजनीतिक समीकरण मात्र होइन, यो त एउटा सहयात्रा हो, जहाँ ‘म’ भन्दा ‘हामी’ र ‘हामी’ भन्दा ‘देश’ ठूलो हुन्छ।
मैले केही समयअघि एउटा टेलिभिजन अन्तर्वार्तामा विश्वप्रकाश शर्मालाई सुनेको थिएँ। उनी निकै शान्त र दृढ सुनिएका थिए। उनले भनेका शब्दहरू अझै मेरो कानमा गुन्जिरहेका छन्— “गगनसँग सबैभन्दा बढी डर र डाह त मलाई हुनुपर्ने हो, किनकि हामी एउटै पुस्ताका हौँ। तर ७० कटेका नेताहरूले उनीसँग किन डाह गर्ने? आजको दिनमा गगनलाई नै अघि बढाउनुपर्छ।”
यो एउटा सामान्य राजनीतिक वक्तव्य मात्र थिएन। नेपाली राजनीतिमा आफ्नै समकालीन साथीलाई “मभन्दा उनी योग्य छन्” भनेर स्वीकार गर्न सक्नु एउटा ठूलो ‘सांस्कृतिक क्रान्ति’ हो। राजनीतिमा खुट्टा तान्ने प्रवृत्तिको सट्टा हात समातेर अघि बढाउने संस्कार विरलै देखिन्छ।
पौष २७ गते बेलुका ७ बजेतिर म भृकुटीमण्डपमा विश्वप्रकाशलाई सुन्दै थिएँ। उनी भन्दै थिए, “अब हाम्रो नेता गगन हो, उसको फेस भ्यालु मेरोभन्दा बढी छ। गगनलाई अघि सारेर अब अघि बढ्ने हो।” त्यो दिन मलाई गगनभन्दा विश्वलाई सुन्न धेरै मन थियो। मैले सोचे झैँ विश्व बोले। पुनः पौष ३० गते राति सुन्धाराको एउटा होटलमा बस्दा पनि उनको स्वरमा त्यही प्रतिबद्धता थियो। उनले स्पष्ट शब्दमा भने, “अब गगनको नेतृत्वमा कांग्रेस बदलियो, अब देश बदल्छौँ।” विश्वप्रकाशको यो गगन-प्रेम र भरोसा देख्दा जो-कोही चकित हुनु स्वाभाविक छ।
साझा पृष्ठभूमि र संघर्षको जग
गगन र विश्वप्रकाशको यो सम्बन्ध आजको भोलि नै बनेको होइन। यसको जग धेरै वर्षअघि विद्यार्थी आन्दोलनका क्रममा बसिसकेको थियो। दुवै नेता नेविसंघको जगबाट उठेका हुन्। विश्वप्रकाश नेविसंघको अध्यक्ष हुँदा गगन थापा पाँच जना उपाध्यक्षमध्येका एक थिए। उनीहरूले तानाशाहीका विरुद्ध सडकमा सँगै टाउको फुटाएका छन्, एउटै हिरासतमा दिनहरू बिताएका छन् र लोकतन्त्रका लागि साझा सपना देखेका छन्।
उनीहरूको मिलन केवल पार्टीको मञ्चमा मात्र भएको होइन, यो त साझा पीडा र साझा विद्रोहको उपज हो। उनीहरू दुवै पुरानो र जकडिएको राजनीतिप्रति विद्रोही छन्। उनीहरू दुवै युवापुस्ताको निराशालाई आशामा बदल्न चाहन्छन्। यही साझा लक्ष्यले उनीहरूलाई सहकर्मीभन्दा माथि उठाएर सहयात्री बनाएको छ। विश्वले गगनको लोकप्रियतालाई स्वीकार गरे, र गगनले विश्वप्रकाशको विचार र शालिनतालाई आफ्नो शक्ति माने।
स्वभावको पूरकता: आगो र उज्यालो
गगन थापा र विश्वप्रकाश शर्मा दुई भिन्न स्वभावका व्यक्तित्व हुन्। तर, यही भिन्नता नै उनीहरूको शक्तिको स्रोत हो। गगन थापा सधैँ निर्भीक, प्रखर र टकराव गर्न नडराउने नेता हुन्। उनी अन्यायविरुद्ध सिधा बोल्छन्, शक्ति केन्द्रसँग जुध्छन् र सत्यको उच्चारणमा सम्झौता गर्दैनन्। उनी एउटा ‘आगो’ हुन्, जसमा अन्यायलाई जलाउने क्षमता छ।
अर्कोतर्फ, विश्वप्रकाश शर्मा संवादका नेता हुन्। उनी शब्दमा पुल बनाउँछन्, मतभेदमा सहमति खोज्छन् र जनतालाई राजनीतिसँग जोड्ने सौम्य भाषा प्रयोग गर्छन्। उनी एउटा ‘उज्यालो’ हुन्, जसले अन्धकारमा बाटो देखाउँछ। गगन ‘गति’ हुन् भने विश्वप्रकाश ‘दिशा’ हुन्। एउटा विष्फोटक ऊर्जा हो भने अर्को व्यवस्थित योजना। जब यी दुई मिल्छन्, नेपाली कांग्रेसभित्र एउटा पूर्णताको महसुस हुन्छ।
राजनीतिमा प्रायः फरक स्वभावका मानिसहरू बीच टकराव हुन्छ। तर गगन र विश्वको हकमा यो फरकपन पूरकता बनेको छ। गगनले साहस देखाउँदा विश्वले त्यसलाई आम जनताले बुझ्ने गरी व्याख्या गर्छन्। विश्वले विचार प्रस्तुत गर्दा गगनले त्यसमा ऊर्जा भर्छन्। यसरी उनीहरू एक-अर्काको कमजोरी ढाक्छन् र सामूहिक शक्ति बढाउँछन्।
कांग्रेसको आन्तरिक लोकतन्त्र र नयाँ संस्कृति
नेपाली कांग्रेसको इतिहास गुटबन्दी, आन्तरिक द्वन्द्व र नेतृत्वको संघर्षले थिचिएको छ। बीपी र सुवर्ण शमशेर, गणेशमान र कृष्णप्रसाद भट्टराईको पालामा देखिएको त्यो त्यागको भावना पछिल्ला दशकहरूमा हराउँदै गएको थियो। तर गगन र विश्वको यो सहकार्यले कांग्रेसभित्र एउटा नयाँ आशाको सञ्चार गरेको छ।
उनीहरूबीच प्रतिस्पर्धा छैन भन्ने होइन। दुवैमा देशको नेतृत्व गर्ने आकांक्षा हुनु स्वाभाविक हो र हुनुपर्छ पनि। तर उनीहरूको प्रतिस्पर्धा ‘स्वस्थ’ छ। उनीहरू एक-अर्कालाई पराजित गर्न होइन, बरु पार्टीलाई कसरी रूपान्तरण गर्ने र मुलुकको संकट कसरी टार्ने भन्नेमा केन्द्रित छन्। विश्वप्रकाश शर्मा गगनका सबैभन्दा बलिया समर्थक मात्र होइनन्, सबैभन्दा इमानदार आलोचक पनि हुन्। उनी चाप्लुसी गर्दैनन्। गगनलाई पनि थाहा छ, विश्वले भनेको कुरा मन नलागे पनि सुन्नै पर्छ, किनकि त्यो सुझाव स्वार्थबाट होइन, चिन्ताबाट आउँछ।
युवापुस्ताको आकर्षण र भरोसा
आजको युवा पुस्ता किन गगन र विश्वको जोडीलाई हेरेर मुसुक्क मुस्कुराउँछ? किनकि यो जोडीमा पुरानो राजनीतिको षड्यन्त्र, गुटबन्दी र ढोंग देखिँदैन। उनीहरूको सम्बन्धमा इमानदारिता छ, भावनात्मक न्यानोपन छ। उनीहरू मञ्चमा मात्र होइन, संकटमा पनि सँगै उभिन्छन्। जब बाह्य प्रहार हुन्छ, उनीहरू एक-अर्काको ढाल बन्छन्।
यो सम्बन्ध केवल वर्तमानका लागि होइन, यो त भविष्यको साझा सपनामा आधारित छ। उनीहरू दुवै नेपाली कांग्रेसलाई ‘डिजिटल युग’ को पार्टी बनाउन चाहन्छन्। भ्रष्टाचार, अपारदर्शिता र कुशासनको अन्त्य उनीहरूको साझा एजेन्डा हो। गगन थापा नेतृत्वको अनुहार हुन् भने विश्वप्रकाश शर्मा त्यस नेतृत्वको आवाज र विवेक हुन्।






