काठमाडौँ, वैशाख ३ — स्क्र्याबल क्लबको आयोजनामा कक्षा ५ र ६ का शैक्षिक पुस्तकहरू चन्द्रागिरी नगरपालिका–१५, नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयमा एक औपचारिक समारोहका बीच विमोचन गरिएको छ।
क्लबका अध्यक्ष केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख धनश्याम गिरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी चन्द्रागिरी नगरपालिका–१५ का वडा अध्यक्ष घनश्याम लुइँटेल, प्याब्सन केन्द्रीय समितिका सदस्य दीपक महर्जन, प्याब्सन चन्द्रागिरी नगरपालिका अध्यक्ष सरोज महर्जन तथा विद्यालयका प्राचार्य दया राम थापा लगायतको विशिष्ट उपस्थिति रहेको थियो।
कार्यक्रममा स्क्र्याबल क्लबका सल्लाहकार, केन्द्रीय समितिका पदाधिकारी, विभिन्न जिल्लाका संयोजकहरू, साथै विभिन्न विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धनश्याम गिरीले विद्यार्थीहरूको भाषिक तथा बौद्धिक विकासमा यस्ता पुस्तकहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्थानीय तहले यस्ता शैक्षिक पहललाई सधैं प्रोत्साहन गर्ने बताए। उनले गुणस्तरीय शिक्षाका लागि सहकार्य र नवप्रवर्तन आवश्यक रहेकोमा जोड दिए।
त्यसैगरी अन्य वक्ताहरूले स्क्र्याबल क्लबले भाषा सिकाइ, शब्द भण्डार विकास र सृजनात्मक क्षमताको अभिवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइतर्फ उन्मुख गराउने धारणा व्यक्त गरे।
कार्यक्रममा क्लबका महासचिव नवीन पन्तले विशेष सम्बोधन गर्दै पुस्तक निर्माणको उद्देश्य, प्रक्रिया र आगामी योजनाबारे प्रकाश पारे। उनले स्क्र्याबललाई शैक्षिक अभ्याससँग जोड्दै देशभर विस्तार गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रमको सञ्चालन क्लबका प्रवक्ता बुद्ध गौतमले गरेका थिए।
उक्त कार्यक्रमले स्क्र्याबल क्लबको शैक्षिक योगदानलाई थप सुदृढ बनाउँदै विद्यार्थी केन्द्रित सिकाइ प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।






