१८ जेठ, काठमाडौं । पछिल्लो एक महिना अवधिमा नेपाली बजारमा आलु र प्याजको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार १८ वैशाखको तुलनामा १८ जेठसम्म आइपुग्दा यी दुई वस्तुको मूल्य बढेको देखिएको हो ।
तथ्यांक अनुसार सबैभन्दा धेरै वृद्धि रातो आलुको मूल्यमा देखिएको छ । १८ वैशाखमा प्रतिकिलो औसत २४ रुपैयाँ ५० पैसा रहेको रातो आलुको मूल्य १८ जेठमा आइपुग्दा बढेर ३२ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ३२.६५ प्रतिशतको उल्लेख्य वृद्धि हो ।
त्यसैगरी भान्सामा अत्यावश्यक सुकेको प्याज (भारतीय) को मूल्य पनि बढेको छ । १८ वैशाखमा प्रतिकिलो औसत ३८ रुपैयाँ ३८ पैसामा पाइने प्याजको मूल्य १८ जेठसम्म ४१ रुपैयाँ ५० पैसा पुगेको छ । एक महिना अन्तरालमा प्याजको मूल्यमा ८.१३ प्रतिशतले वृद्धि भएको छ ।






