काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबारका लागि सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ। देशका पश्चिमी तराईका सहरहरुमा अत्यधिक गर्मीको महसुस हुनेछ भने पहाडी तथा पूर्वी भेगमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ।
आज दिउँसो नेपालगञ्जमा ‘तातो हावाको लहर’ चल्ने पूर्वानुमान गरिएको छ जहाँ अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्नेछ। त्यसैगरी धनगढी र भैरहवामा पनि तापक्रम ३८ देखि ४० डिग्रीसम्म पुग्ने र निकै ‘तातो दिन’ हुनेछ।दिपायल, सिमरा र जनकपुरमा पनि दिन तातो रहनेछ, यी सहरहरुमा तापक्रम ३४ देखि ३७ डिग्रीको आसपास रहनेछ। वीरेन्द्रनगरमा भने तापक्रम ३५ देखि ३७ डिग्री रहे तापनि आंशिक रुपमा बादल लाग्नेछ।
यता पहाडी र पूर्वी भेगमा भने मौसम केही शीतल रहनेछ। पोखरा, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। पोखरा र ताप्लेजुङमा पानी पर्ने सम्भावना ४० प्रतिशत रहेको छ।
संघीय राजधानी काठमाडौँसहित डडेल्धुरा, जुम्ला, घोराही, विराटनगर, जोमसोम र धरानमा भने दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना २० देखि ३० प्रतिशतसम्म रहेको छ। दिउँसो सबैभन्दा कम अधिकतम तापक्रम जुम्ला र जोमसोममा २२ देखि २४ डिग्री सेल्सियस रहनेछ।






