२ असार, धनकुटा । धनकुटा नगरपालिकाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा धामसम्म फैलिएको सडक कालोपत्रे सुरु भएको छ । २०५७ सालमा जनश्रमदानबाट खनिएको सडक अहिले विश्व बैंकको करिब ३६ करोड रुपैयाँ सहयोगमा कालोपत्रे भएको हो ।
सरकारी बजेट र प्राविधिक पहुँच सीमित भएको समयमा गाउँलेहरुले ९६ दिनसम्म जनश्रमदान गरेर सडकको ट्रयाक खोलेका थिए । धनकुटा नगरपालिका वडा नं. १ र २ मा पर्ने यो सडक सुरुमा भीरगाउँका स्थानीयलाई हिले बजार पैदल आउ–जाउ गर्न सजिलो बनाउने उद्देश्यले खनिएको थियो । तर समयसँगै यो सडक रिङरोड अवधारणासँग जोडियो र अहिले धनकुटा नगरपालिकाको विकासको मेरुदण्ड बन्न पुगेको छ ।
हाल विश्व बैंकको सहयोगमा सुरु भएको परियोजनाअन्तर्गत करिब ७.२ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । यसमध्ये ३.३ किलोमिटरमा ढलान भइसकेको छ भने बाँकी ४ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्रेको काम अघि बढिरहेको छ ।
धनकुटा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत सीताराम गौतमका अनुसार मौसमले साथ दिए यही असार महिनाभित्रै कालोपत्रे गरीसक्ने लक्ष्य छ ।
सडक स्तरोन्नति हुँदा मधुगंगा धामसम्म धार्मिक पर्यटकको पहुँच सहज हुने र स्थानीय होटल, साना व्यवसाय र सेवामूलक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास छ ।
रिङरोड अवधारणा पूरा हुन बाँकी
त्यसो त माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएपनि तल्लो क्षेत्र बिहीबारेहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडक स्तरोन्नति नहुदाँ रिङरोड अवधारणा पूरा हुन भने सकेको छैन् ।
बजेट अभावका कारण काम अघि बढ्न नसकेको धनकुटा नगरपालिकाले जनाएको छ । हाल ट्रयाक खोल्ने र संरचनागत तयारी मात्र भएको छ । विश्व बैंकसमक्ष प्रस्ताव पेश भए पनि स्वीकृति आउन बाँकी रहेको धनकुटा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत गौतमले जानकारी दिए ।
माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएसँगै हिले बजारबाट भिरगाउँसँगै मधुगंगा धाम सुगम बनेको छ । यस्तै तल्लो क्षेत्र बिहीबारेहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडक स्तरोन्नति वा कालोपत्रे भएपछि धनकुटा बजार भिरगाउँ र मधुगंगा धाम सुगम बनेसँगै धनकुटा नगरपालिकाको रिङरोड अवधारणा पूरा हुनेछ ।






