रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा

काठमाडौँ । सङ्गीत रोयल्टी समाज नेपालले रोयल्टी नतिर्ने देशभरका १०३ वटा संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएको छ । पटक–पटक पत्राचार गर्दा पनि रोयल्टी तिर्न आनाकानी गर्दै आएका ती संस्थालाई समाजले कारबाहीका लागि सिफारिससहित जाहेरी दिएको हो ।

स्रष्टा–सर्जकको बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३ ले संरक्षण गरेको छ । सोही ऐनको, २०५९ को दफा २५ को (क) बमोजिम संरक्षित बौद्धिक सम्पत्तिको अनुमतिबिना प्रयोग गर्न पाइने छैन भन्ने उल्लेख छ । सोही अनुसार कारबाहीका लागि सिफारिस गरिएको हो ।कारबाहीका लागि सिफारिस गरिएका संस्थामा विभिन्न एफएम रेडियो, सञ्चार संस्था, पार्टी प्यालेस, क्याफे, रोदीघर, फिटनेश क्लब, डान्स क्लब, होटल, बर्गर हाउसलगायत छन् ।

समाजले जिल्ला प्रहरी परिसर झापामा ८ संस्था, जिल्ला प्रहरी कार्यालय मोरङमा ७ संस्था, जिल्ला प्रहरी कार्यालय तनहुँमा ७ संस्था, प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँमा १४ संस्था, प्रहरी वृत्त बौद्धमा ९ संस्था, प्रहरी वृत्त गौशालामा १२ संस्था, प्रहरी वृत्त बानेश्वरमा १६ संस्था, प्रहरी वृत्त कालिमाटीमा १२ संस्था, प्रहरी वृत्त लैनचौरमा १० संस्था, प्रहरी वृत्त दरबारमार्गमा ८ संस्थाविरुद्ध कारबाहीको सिफारिस गरेको समाजकी कानुन अधिकृत सपना घर्ती मगरले जानकारी दिइन् ।‘ती संस्थालाई अनुमति लिएरमात्रै गीत–सङ्गीत प्रयोग गर्न पटक–पटक पत्र काट्दा पनि बेवास्ता गरेकाले हामीले कानुनी बाटो अपनाएका छौँ,’ कानुन अधिकृत घर्ती मगरले भनिन्, ‘फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएका छौँ ।’

मगरका अनुसार प्रहरीले ती संस्थालाई पहिलो चरणमा छलफलका लागि बोलाउने छ । छलफलमा सहमति नभए अदालतमा मुद्दा अगाडि बढाउनेछ ।

तीन संस्थाविरुद्ध अदालतमा मुद्दा

प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने तीन संस्थाविरुद्ध अहिले भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले तीन वटा संस्थाविरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा अदालतमा मुद्दा दर्ता गरेको हो ।

नेपाल अरनिको यातायात प्रा.लि, भक्तपुर एफएम, ग्रेस एफएम भक्तपुर विरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घन गरी स्रष्टा–सर्जकको बौद्धिक सम्पत्ति प्रयोग गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । हाल उक्त मुद्दा अदालतमा विचाराधीन छ ।

के हो रोयल्टी ?

रोयल्टी भनेको बौद्धिक सम्पत्ति हो । बौद्धिक सम्पत्तिको मूल्यलाई रोयल्टी भनिन्छ । गीत–सङ्गीत बौद्धिक सम्पत्तिमा पर्छन् । गीत–सङ्गीतको मालिक रचयिता स्रष्टालाई तिर्ने कृतिश्वलाई रोयल्टी भनिन्छ, जो बौद्धिक सम्पत्तिका सार्वजनिक प्रयोगकर्ताले प्रयोग गरेपिच्छे तिर्नुपर्ने हुन्छ । रोयल्टी नतिरी गीत–सङ्गीत (बौद्धिक सम्पत्ति) को प्रयोग गर्नु कानुनी अपराध हो । जसको लागि प्रतिलिपि अधिकार ऐन,२०५९ मा दण्ड सजायको व्यवस्था समेत गरेको छ ।

सेयर गर्नुहोस्