कोशी प्रदेशमा इतिहासमै पहिलो पटक सरकार प्रमुखले नै बजेट बिग्रियो भनेर घोषणा गरेको प्रदेशका विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताएका छन्।
आइतबारको प्रदेशसभा बैठकमा बोल्दै विपक्षी दलका नेता आङ्वोले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इतिहासमै पहिलो पटक आफैले ल्याएको बजेट बिग्रियो भनेर घोषणा गरेको बताए।
आङ्वोले प्रदेशका मन्त्रीहरूले पनि बजेट बिग्रिएको भनेर बोल्दै हिँडेको र प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले बजेटबारे संसद्मा छलफल नै नभई बजेट संशोधन गर्ने अभिव्यक्ति दिएको टिप्पणी गरे।
आङ्वोले बजेट सार्वजनिक गरेपछि रातो किताबमा योजना तथा कार्यक्रम छापिएर सार्वजनिक गरिसकेपछि आर्थिक मामिला मन्त्रीले बजेट सरेन्डर गर्ने अर्थहीन कुरा गरेको आरोप लगाए।
नेता आङ्वोले भने ‘बजेट इतिहासमै पहिलो पटक सरकार प्रमुखले नै बजेट बिग्रियो भनेर सार्वजनिक घोषणा गरेको सुन्नुपरेको छ। जुन बजेटको स्वामित्व मुख्यमन्त्रीले नै लिन सक्नुहुन्न, त्यो बजेट बोकेर मन्त्री र सांसदहरू कसरी हिँड्न सक्छन् ?’
बजेट बिग्रिएको महसुस भइसकेपछि वैधानिक ढङ्गले नै संशोधन गर्न सकिने भए पनि सरकारले आफैले बजेटको औचित्य सिद्ध्याइसकेको बताए।
नेता आङ्बोले बजेट पारित भएपछि संशोधन वा रकमान्तर गर्ने आश्वासन दिएर प्रदेशलाई वित्तीय अराजकताको बाटोमा नलैजान सरकारलाई चेतावनी दिए।
पारदर्शी ढङ्गले संसदभित्रै बजेटका त्रुटि सच्याउनुपर्नेमा अँध्यारो कोठामा बसेर गरिने सहमति आफूहरूलाई मान्य नहुने उनले स्पष्ट पारे। ‘बजेट बिग्रिनु, असफल हुनु भनेको सरकार पनि असफल हुनु हो’, उनले भने।
कांग्रेस एमालेको असफलताले आफूहरू पनि असफल भएको उनले बताए। नेता आङ्वोले अहिले नाङ्गो ढङ्गले प्रदेश खारेजको विषय उठेको धारणा राखे।
कांग्रेस एमालेको गठबन्धनले देशलाई मात्रै हैन व्यवस्थालाई नै चुनौती दिएको उनको भनाई छ। उनले कोशी प्रदेशमा गठबन्धनको सरकार बोझ भएको टिप्पणी गरे। उनले गठबन्धन भत्कनु आवश्यक रहेको दाबी गरे।
उनले बजेटको असफलताबाट कांग्रेस एमालेको गठबन्धन कोशी प्रदेशमा असफल भइसकेकाले अब, गठबन्धनको बोझ प्रदेशवासीले बोक्न नसक्ने स्पष्ट पार । संसदभन्दा बाहिरबाट बजेट संशोधन गरिए वा चलाइए विपक्षी दललाई मान्य नहुने उनले चेतावनी दिए।






