काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ।
मंगलबार बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले यस्तो जानकारी गराएकी हुन्।
आगामी साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने र उजुरीउपर छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने उनले बताइन्। सहकारी बचत फिर्तालाई सरकारले निरन्तरता दिएर अघि बढ्ने पनि उनले स्पष्ट पारिन्।
कार्यक्रममा बोल्दै उनले भनिन्, ‘सहकारी बचत फिर्तालाई प्रदेश सरकारले निरन्तरता दिएर अगाडि बढ्नेछ। त्यसकारण सबै सहकारी पीडित नागरिकलाई धैर्य भएर बसिदिनको लागि अनुरोध गर्न चाहन्छौँ।’ अब समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत नै उजुरी दिने व्यवस्था गर्न लागिएको उनले बताइन्।
उनले थपिन्, ‘आगामी साउन १ गतेदेखि अनलाइनमार्फत नै उजुरी दिने व्यवस्था गर्दैछौँ। अनलाइनमार्फत उजुरी दिएपछि त्यसको आवश्यक अध्ययन गरी पीडितले बचत रकम फिर्ता पाउनुहुनेछ।’
मन्त्री पौडेलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने समेत जानकारी दिइन् ।






