आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान

काठमाडौँ । उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ताको हक हित संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई भेटेर अभियानको टोलीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न सुझावसहितको ध्यानाकर्षण गराएको हो ।

सिंहदरबार पुगेर अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले उपभोग्य वस्तु र सेवा क्षेत्रको सार्थक र प्रभावकारी अनुगमन गरी आम उपभोक्ताको हित संरक्षण गराउने तर्फ मुख्य सचिव कार्कीलाई अनुरोध गरेको हो । नेपाल सरकारका नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीलाई निजामती सेवाको उच्च पदमा नियुक्त भएकोमा बधाई दिँदै अध्यक्ष भण्डारीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न संस्थागत सुझाव सहित जागरण अभियानको वार्षिक स्मारिका समेत प्रदान गरेका थिए ।

अभियानले नयाँ बजेटले गरेका करका प्रावधान ,साउन  महिनादेखि सुरु हुने साना ठुला चाडपर्व , अन्तर्राष्ट्रिय कारणले तलमाथि भइरहने पेट्रोलियम पदार्थको मूल्य र त्यसले पार्ने  प्रभाव लगायतका कारण वस्तु र सेवाको  मूल्यबृद्धिका कारण असहज हुने आपूर्ति व्यवस्थालाई ध्यानमा राखेर सरकारले समयमै चाडपर्व लक्षित कार्ययोजना ल्याउन सुझाव दिएको छ ।

त्यस्तै, नेपाल सरकारले आ.व. २०८३–८४ लाई कानुन सुधार तथा निर्माण  वर्षको रूपमा काम गर्ने पहल स्वरुप  १६६ कानुन निर्माण र सुधार गर्ने तयारी गरिरहँदा तत्काल सुधार गर्नुपर्ने कानुनमा उपभोक्ता संरक्षण ऐन ,२०७५ लाई पनि समावेश गर्न भण्डारीले मुख्यसचिव कार्कीको ध्यानाकर्षण गराएका छन् ।

उपभोक्ताको सरोकार लिएर भण्डारीसँगै अभियानका  उपाध्यक्ष रोहित दाहाल र महासचिव चिन्तामणि पराजुली, सदस्य मुरारी बस्ती सहितका पदाधिकारीको टोलीले सरकारका अन्य नियामक निकायलाई पनि ध्यानाकर्षण गराएको छ । सोही क्रममा टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पुगेर महानिर्देशक मोतिराम सापकोटा र निर्देशक अनिल किराँतीलाई उपभोक्ताको हक हितका विषयमा भइरहेका गतिविधिका विषयमा ध्यानाकर्षण गराएको हो ।

सेयर गर्नुहोस्