न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ‘ऊर्जा युद्धविराम’ (बिजुली र तेलका क्षेत्रमा हमला नगर्ने सहमति) भएको दाबी गरेका छन् । यो सहमति तत्काल लागू हुने उनको भनाइ छ ।
हालै रुससँग डिजेल आपूर्तिको ठूलो सम्झौता गरेपछि ट्रम्पको यो घोषणा आएको हो । यद्यपि, ट्रम्पको यो दाबीबारे रुसले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
यता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरुमा ट्रम्पको यो घोषणाप्रति आश्चर्य व्यक्त गर्दै यो आफ्ना लागिसमेत नयाँ खबर भएको बताएका थिए । तर पछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले युद्धविरामको समर्थन गरेका छन् ।
जेलेन्स्कीकाअनुसार यदि रुसले युक्रेनका ऊर्जा संरचनामा हमला रोक्छ भने युक्रेन पनि रुसी तेल रिफाइनरीहरूमा आक्रमण बन्द गर्न तयार छ । उनले यसबारे अमेरिकाबाट थप विस्तृत जानकारीको पर्खाइमा रहेको उल्लेख गरेका छन् ।
पछिल्ला दिनहरूमा ट्रम्प र जेलेन्स्कीबीच तनाव बढेको थियो । ट्रम्पले युक्रेनलाई रुसी तेल क्षेत्रमा हमला नगर्न चेतावनी दिँदै युक्रेनमा ‘नयाँ राष्ट्रपति’ हुनुपर्ने टिप्पणीसमेत गरेका थिए ।
विगत पाँच वर्षदेखि जारी रुस-युक्रेन युद्धमा पछिल्ला महिनाहरूमा दुवै पक्षले एक-अर्काका बिजुली र ऊर्जा केन्द्रहरूलाई लक्षित गरी आक्रमण तीव्र पारिरहेका छन् ।






