बिना शुल्क जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने:उपत्यकामा ग्यास वितरण स्थान ११

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास वितरण हुने स्थान ६ बाट बढाएर ११ पुर्‍याइएको छ।

दसैँका बेला उपभोक्तालाई ग्यास अभाव नहोस् भन्ने उद्देश्यले नेपाल आयल निगमको समन्वयमा ग्यास बिक्रेता महासंघले आइतबारदेखि काठमाडौँ उपत्यकामा ग्यास बिक्री थालेको हो।

आइतबार काठमाडौँका ६ स्थानमा मात्रै ग्यास साट्ने व्यवस्था गरिएको थियो। बिक्री केन्द्रमा पर्याप्त ग्यास नहुने कतिपय उपभोक्ताले ग्यास पाउन सकेका थिएनन्।

उपभोक्ताको सुविधाको लागि आजदेखि ५ स्थान थप गरेर ११ ठाउँमा ग्यास सिलिन्डर साटफेरको व्यवस्था मिलाइएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

संघका अनुसार सोमबारदेखि काठमाडौँको चपली बुढानीलकण्ठमा भानु, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी, कलंकीमा गीता, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री र सन्तुगलमा श्रीमाया ग्यास साट्ने व्यवस्था थप गरिएको छ।

यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम, काठमाडौंको कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास,  बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलामा सगर तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्ने व्यवस्था गरिएको थियो।

तोकिएका ११ वितरण केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्ने संघले जनाएको छ।

यसरी फरक कम्पनीको सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। तोकिएको स्थानबाहेक अन्य स्थानबाट ग्यास साटफेर गर्न नसकिने पनि संघले जनाएको छ।

यो व्यवस्था ३० असोजसम्म बिहान ११ बजेदेखि अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुनेछ। यसअघि संघले ३१ असोजसम्म बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म ग्यास साटफेर गर्न सकिने जनाएको थियो।

आइतबार पहिलो दिन विभिन्न कम्पनीका ३ हजार ७५ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ।

सेयर गर्नुहोस्