पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सडक मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले असोज २६ गते सोमबार राति ११ बजेदेखि असोज २७ गते बिहान ५ बजेसम्म उक्त सडकखण्ड भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने जनाएको छ।
सडकखण्डको मर्मतसम्भारका लागि दुवैतर्फबाट सवारी सञ्चालन हुँदै आएको भए पनि थप मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारीचालकलाई निर्धारित समयलाई ध्यानमा राखेर यात्रा गर्न र सम्भावित असुविधाबाट बच्न आग्रह गरेको छ।
आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल (गौतम)द्वारा जारी सूचनामा सडक मर्मतका क्रममा हुन सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ।






