एक वर्षमै दुई वटा भीषण रेल दुर्घटना भएपछि स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पछिल्लो दुर्घटना गत साता भएको थियो, जसमा ६९ जनाको मृत्यु हुनका साथै २०० भन्दा बढी मानिस घाइते भएका थिए ।
‘दुर्घटना भएको केही मिनेटभित्रै मैले आफ्नो भविष्यबारे निर्णय गरिसकेको थिएँ,’ पुएन्तेले म्याड्रिडमा सांसदहरूलाई सम्बोधन गर्दै भने, ‘स्पेनजस्तो देशको यातायातमन्त्रीले एक वर्षभन्दा कम अवधिमा यति गम्भीर प्रकृतिका दुई वटा दुर्घटना भएपछि पदमा रहिरहनु उचित हुँदैन । ती दुर्घटनाका कारण फरक भए पनि र त्यसमा मेरो प्रत्यक्ष जिम्मेवारी भए पनि, नभए पनि मैले पद छोड्नुपर्छ भन्ने लाग्यो ।’
पुएन्तेले पछिल्लो रेल दुर्घटना भएको ६ दिनपछि राजीनामा दिएका हुन् । अधिकारीहरूका अनुसार म्याड्रिड र दक्षिणी क्षेत्र अन्डालुसियालाई जोड्ने उच्च गतिको रेलमार्गमा मानवीय त्रुटि र कम्प्युटर प्रणालीमा भएको गडबडीका कारण दुर्घटना भएको थियो ।
स्पेनको राष्ट्रिय रेल सेवाले सञ्चालन गरेको एउटा रेलले उच्च गतिमा अर्को रोकिराखिएको रेललाई ठक्कर दिएको थियो । सुरक्षा प्रणालीमा समस्या आएपछि उक्त रेलमार्गमा रेल सेवा रोकिएको अवस्थामा यो दुर्घटना भएको थियो ।
‘रेललाई अगाडि बढ्न नदिने रातो बत्ती बलिरहेको थियो, तर पनि रेललाई अघि बढ्न अनुमति दिइयो,’ पुएन्तेले गत साता भनेका थिए, ‘यस्तो निर्णय कुन परिस्थितिमा लिइयो भन्ने कुरा बुझ्नै नसकिने छ ।’ त्यसअघि गत जनवरीमा पनि गम्भीर रेल दुर्घटना भएको थियो । अन्डालुसिया क्षेत्रको अदामुज सहरमा दुईवटा उच्च गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको थियो ।
पछिल्लो रेल दुर्घटनापछि विभिन्न राजनीतिक दलका नेता र स्पेनका यातायात मजदुर युनियनले पुएन्तेलाई राजीनामा दिन दबाब दिएका थिए । दुर्घटना भएकै रात यातायात मन्त्रालयको मुख्यालयबाहिर प्रदर्शनकारी र प्रहरीबिच झडपसमेत भएको थियो । प्रदर्शनकारीमध्ये केहीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले पनि राजीनामा दिनुपर्ने मागसहितका प्लेकार्ड बोकेका थिए ।
स्पेनमा आमनिर्वाचन हुन तीन सातामात्र बाँकी छ । राजीनामा घोषणा गरेका पुएन्तेले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने पनि बताएका छन् । आवासको बढ्दो मूल्य र उपलब्धतासम्बन्धी विवाद, भ्रष्टाचारका विभिन्न काण्ड तथा स्थानीय निर्वाचनमा आफ्नो समाजवादी पार्टीले बेहोरेका लगातारका धक्कापछि प्रधानमन्त्री सान्चेजले निर्धारित समयभन्दा अगाडि नै आमनिर्वाचन घोषणा गरेका थिए ।
प्रधानमन्त्री सान्चेजले सामाजिक सञ्जालमार्फत पुएन्तेको प्रशंसा गर्दै पीडितहरूप्रतिको सम्मान र आफ्नो प्रगतिशील राजनीतिक अभियानप्रतिको प्रतिबद्धताका कारण उनले पद छोडेको बताएका छन् ।
सान्चेजले लेखेका छन्, ‘पुएन्तेजस्ता राजनीतिज्ञले हाम्रो देशको प्रतिष्ठा बढाउँछन् र सबै राजनीतिज्ञ एकै प्रकारका हुँदैनन् भन्ने देखाउँछन् । कोही केवल अरूलाई उपदेश दिन्छन् भने कोही आफ्नो जिम्मेवारी पूरा गर्न सबैथोक त्याग्छन् । एजेन्सी






