भारतीय राजदूत दलेलासँग प्रधानमन्त्री शाहको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारीबारे समेत छलफल भएको थियो । राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस्