चितवन । मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ । आज (शुक्रबार) सम्पन्न उपाधि भिडन्तमा गण्डकी प्रदेशलाई हराउँदै बागमती च्याम्पियन बनको हो । फाइनलमा बागमतीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।भरतपुरको रामपुरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । बागमतीको जितमा कप्तान सोनी पाख्रिनले २० रन बनाईन् । सोनीले २३ बलमा २ चौका प्रहार गरिन् ।
सेविका यादवले २० तथा एलिसा खड्काले १५ रन जोडे । गण्डकीकी सीमाना केसीले एक विकेट लिईन् । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । गण्डकीकी ज्योत्सनिका मरासिनीले ३७ र सीमाना केसीले २१ रन बनाए ।
बागमतीकी विपिशा शाही र मनिषा उपाध्यायले एक-एक विकेट लिए गण्डकीकी अलराउण्डर सीमाना केसी प्लेयर अफ दि टुर्नामेन्ट भईन् । सुदुरपश्चिमकी सावित्री धामी उत्कृष्ट ब्याटर तथा गण्डकीकी निरु जिटी प्रतियोगिताभरक्क उत्कृष्ट बलर बनिन् । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा सम्पन्न प्रतियोगितामा सात प्रदेशका टोली सहभागी थिए ।