काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै एमाले निकट अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ।
बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुले बुधबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडी मसाल जुलुस प्रदर्शन गरेको हो। उनीहरुले प्रकाश ज्वालालाई कारवाही गर, बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर लगायतका नारा लगाएका थिए।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले बालकुमारी घटनाको प्रतिवेदन लुकाएर दोषी मन्त्रीलाई बचाउन खोजिएको बताए। उनले मन्त्रीलाई बर्खास्त नगरेसम्म सडक नछाड्ने स्पष्ट पारे। बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिवेदन अध्ययन गरि दोषीलाई कारवाही गर्ने बताउँदै आएका छन्।
पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। उक्त घटनाको जाँचबुझ गर्न सरकारले आयोग गठन गरेको थियो।