यस वर्ष सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका केन्याली नागरिक जोशुवा चेरुत्योट किरुतको शव सगरमाथामै छोडिने मृतकको परिवारले जनाएको छ ।
मृतकको परिवारले विज्ञप्ति निकालेर शव रहेको उचाइबाट उद्धार कठिन रहेको र किरुतले हिमालमै रहँदा शान्ति पाउने भन्दै शव उतै छाड्ने बताएका बीबीसीले जनाएको छ । तर परिवारको चाहना भए पनि नेपालको कानुनअनुसार हिमालमा शव छाड्न नपाइने पर्यटन विभागले जनाएको छ ।
आरोही किरुत सगरमाथाको शिखरबाट ४८ मिटर तल आएपछि लडेका थिए । केन्याली नागरिक केरुतको शव देखिएकोले खोजी गर्न नपर्ने विभागले जनाएको छ । केरुतको साथमा गएका शेर्पा भने हराइरहेका छन् । किरुतको शव हिमालबाट निकालेर काठमाण्डौ ल्याउन एक लाख ९० हजार डलर खर्च हुने अनुमान छ ।
पर्वतारोहीको बीमा गरिएको हुन्छ । परिवारले बीमा रकम लिने तर मृतकको इच्छा भन्दै शव नल्याउने घटना यसअघि पनि भइरहेका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङ झिक्नै असम्भव भएमा बाहेक शव हिमालबाट निकाल्नैपर्ने बताउनहुन्छ ।
यस वर्षदेखि पर्यटन विभागले शवको खोजी गर्न सजिलो होस् भनेर हरेक आरोहीको साथमा चिप्स लैजानुपर्ने नियम लागू गरेको थियो । अहिले सगरमाथामा निकै पुरानासमेत गरी झन्डै दुई सय शव रहेको अनुमान छ ।