टिकटक खुलाउन सांसद अशिम शाहको माग, साना व्यवसायीले गरेको घरेलु व्यवसाय विस्थापित भएको भनाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् ।

हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेको अवस्थामा सरकारले बन्द गरे पनि भीपीएनमार्फत अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क रहेको उनले सुनाए ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले टिकटक खोल्न माग गरे ।

उनले भने– ‘हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क छ । टिकटकको विकल्पमा फेसबुक रिल, युट्युब सर्ट्स मज्जाले चलेकै छ । यस्तोमा सरकारले विकृति फैलाएको भन्दै सरकारले टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ? सरकारले टिकटक बन्द गरेपछि अपराध घटेको भन्ने तथ्याङ्क त छैन होला । तर टिकटक बन्द भएपछि ब्यान्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटिसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्याङ्कले देखाएको छ ।’

टिकटकबाट साना व्यवसायीले गरेको घरेलु व्यवसाय विस्थापित भएको उनले बताए ।

उनले भने, ‘अरू पनि सूचीकृत नभएका फेसबुक इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल बिना रोक तोक चलिरहेका छन् । तर, टिकटकबाट मात्र अपराध फैलिने कुरा स्वीकार्य छैन । त्यसैले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित ढङ्गले टिकटक खोल्न सरकारसँग आग्रह गर्दछु ।’

सेयर गर्नुहोस्