अप्रिल महीना सरदरभन्दा तातो, देशैभरि अधिकतम तापक्रम औसतभन्दा धेरै

गएको अप्रिल महीनामा देशैभरि सरदरभन्दा तातो भएको तथ्यांकले देखाएको छ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको अप्रिल महीना (चैत १९ देखि वैशाख १८ सम्म) को जलवायुको मासिक विश्लेषण प्रतिवेदनले देशैभरिको अधिकतम तापक्रम औसतभन्दा धेरै रहेको देखाएको छ। त्यस्तै, देशको मध्य तथा अधिकांश हिमाली क्षेत्रमा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी मापन गरिएको छ।

कयौं स्थानको उच्च तापमानमा ऐतिहासिक रेकर्ड कायम भएको छ। विभागका अनुसार अप्रिल महीनामा रौतहटको गौरमा औसतको तुलनामा अधिकतम तापक्रम ४.८ डिग्री सेल्सियस बढी रेकर्ड भएको छ।

अप्रिलमा गौरको औसत अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस थियो। त्यस्तै, अधिकतम तापक्रम ४२.३ डिग्री सेल्सियससम्म पुगेको थियो।

काठमाडौंमा विगतको औसतका तुलनामा अप्रिल महीनामा अधिकतम तापक्रम २.८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस रेकर्ड भएको छ। अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्नुले गर्मी बढेको बुझाउँछ। अप्रिलमा काठमाडौंको अधिकतम तापक्रम सरदरमा ३१.४ डिग्री सेल्सियस थियो।

विभागका अनुसार, मधेश, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशको दक्षिण पूर्वी क्षेत्रमा अप्रिल महीनामा न्यूनतम तापक्रम विगतको सरदरभन्दा कम रेकर्ड भएको छ। यसबाहेक देशका अन्य भागमा भने न्यूनतम तापक्रम विगतको सरदरका तुलनामा बढी पाइएको छ।

खासगरी देशको पूर्वदेखि पश्चिमसम्मका हिमाली क्षेत्रमा न्यूनतम तापक्रम विगतको औसतका तुलनामा बढेको छ। न्यूनतम तापक्रम बढ्दा सामान्यतया रातिको समयमा हुने चिसो कम हुन्छ।

अप्रिल महीनामा भक्तपुर, सुनसरी, खोटाङ, सर्लाही जिल्लामा अधिकतम तापक्रममा रेकर्ड ब्रेक भएको छ। भक्तपुरको चागुँनारायणमा वैशाख १८ मा अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस रेकर्ड भयो, जुन यसअघि कहिल्यै रेकर्ड गरिएको थिएन। यसअघि २०७२ जेठ २३ गते चाँगुनारायणमा अधिकतम ३३.६ डिग्री सेल्सियस रेकर्ड भएको थियो।

सर्लाहीको कर्मैयामा वैशाख १८ मा अधिकतम तापक्रम ४३.०२ डिग्री सेल्सियस रेकर्ड भयो। यसअघि २०५२ वैशाख १९ गते अधिकतम ४२.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।

विभागका अनुसार देशका १७ स्थानमा विगत वर्षको अप्रिल महीनाका तुलनामा यो वर्षको अप्रिल महीनामा अधिकतम तापक्रम बढी रेकर्ड गरिएको छ। अर्थात्, यी क्षेत्रमा यो वर्षको अप्रिलमा जति यसअघि कहिल्यै अधिकतम तापक्रम रेकर्ड भएको थिएन। भैरहवा, भक्तपुर, वीरगन्ज, बारा, बैतडी, चितवन लगायतका स्थानमा अधिकतम तापक्रम विगतको अप्रिलको तुलनामा यो वर्ष धेरै देखिएको हो।

विभागले अप्रिल महीनालाई देशका अधिकांश क्षेत्रमा अति उच्च खडेरी भएको महीनाका रूपमा चित्रण गरेको छ। औसतका तुलनामा ३० प्रतिशतभन्दा पनि कम पानी परेको अवस्थालाई अति उच्च खडेरीको रुपमा मानिन्छ। अप्रिलमा मासिक सरदरको २०.५ प्रतिशत मात्रै पानी परेको थियो। अप्रिलमा सरदरमा ६०.५ मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्ष १२.४ मिलिमिटर मात्रै परेको थियो।

पछिल्लो समयमा तापक्रम लगातार बढिरहेको छ। सन् २०२३ चार दशककै सर्वाधिक तातोमध्येको एक वर्ष बन्न पुगेको थियो। सन् २०२३ मा नेपालका एक दर्जन स्थानमा उच्च तापमानको रेकर्ड ‘ब्रेक’ भएको थियो। विभागको तथ्यांकअनुसार, सन् २०२३ मा नेपालको वार्षिक औसतभन्दा अधिकतम तापक्रम ०.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसले धेरै रेकर्ड भएको थियो। सन् २०२३ मा नेपालको वार्षिक औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सियस पुगेको थियो।

यो वर्ष पनि तातो वर्षका रुपमा दरिने सम्भावना छ। विभागका अनुसार असार १ मा काठमाडौंको अधिकतम् तापक्रम २५ वर्ष यताकै उच्च हुनपुग्यो। असारको पहिलो दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनले अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरेको थियो। यो अहिलेसम्म काठमाडौंमा रेकर्ड गरिएको तेस्रो उच्च तापमान हो।

यसअघि २०५५ चैत १२ मा काठमाडौंमा ३५.६ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। अहिलेसम्मका काठमाडौंमा सर्वाधिक उच्च तापमान २०४६ वैशाख २५ गते मापन गरिएको थियो।

सेयर गर्नुहोस्